४० दिनपछि खुल्यो बीरगंज नाका « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

४० दिनपछि खुल्यो बीरगंज नाका



काठमाडौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्ताले अवरुद्ध गरेको वीरगन्ज–रक्सौल नाका आज बिहानदेखि खुल्ला भएको छ ।

वीरगन्जको मितेरीपुलमा धर्ना बसेका मोर्चाका नेता कार्यकर्ताहरुलाई हस्तक्षेप गरी प्रहरीले अवरुद्ध नाका खुल्ला गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय पर्साबाट खटेका प्रहरी टोलीले बिहान करिब ४ बजेको समयमा धर्नास्थलमा हस्तक्षेप गरी नाका खुल्ला गराएको स्थानीय प्रशासनले जनाएको छ । नाका खुल्ला भएपछि विगत दुई महिनादेखि वीरगन्जमा थन्किएका भारतीय वाहनलाई भारततर्फ पठाउने काम सुरु गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । वीरगन्जको इनर्वास्थित भन्सार एरियामा थन्किएका ५०० बढी वाहनलाई भारततर्फ पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

नाकामा प्रहरीले गरेको हस्तक्षेपको विरोध गर्दै वीरगन्जका विभिन्न स्थानमा टायर बाली प्रदर्शन भइरहेको छ । आन्दोलनकारीले मितेरीपुलमा लगाएको पाललाई प्रहरीले जलाई नष्ट गर्नुका साथै अन्य सामानसमेतलाई आफ्नो नियन्त्रणमा लिएको छ । नाकामा प्रहरी हस्तक्षेप भएपछि वीरगन्ज नगरको अवस्था तनावपूर्ण बनेको छ ।

यसैबीच, नाका खुलाउने क्रममा प्रहरीको कामकारबाहीमा बाधा उत्पन्न गर्ने चारजना व्यक्तिलाई नियन्त्रणमा लिइएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिनुभयो ।

पक्राउ गरिएको व्यक्तिको परिचय हाल नखुलेको बताउँदै प्रजिअ घिमिरेले उनहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको जानकारी दिनुभयो ।

पहिलो चरणमा नेपालतर्फ थन्किएका वाहनलाई भारततर्फ पठाउने र भारतीय पक्षसँगको सल्लाहपछि भारतमा थन्किएका वाहनलाई नेपाल भित्र्याउने कार्य सम्भव भए आजैदेखि हुने प्रजिअ घिमिरेले बताउनु भयो ।

प्रकाशित : १६ कार्तिक २०७२, सोमबार ०४:४७