नाकाबन्दीलाई अवसर ठान्नुपर्छ : गभर्नर नेपाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नाकाबन्दीलाई अवसर ठान्नुपर्छ : गभर्नर नेपाल



पर्वत / नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले भारतले नेपालमा लगाएको नाकाबन्दीलाई मुलुक निर्माणको अवसरका रुपमा बदल्न आग्रह गर्नुभएको छ ।

पर्वतको कुस्माबजारमा केन्द्रीय कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्थाको आइतबार उद्घाटन गर्दै गभर्नर नेपालले नाकाबन्दीबाट पाठ सिकेर मुलुक निर्माणमा सबै लाग्न आग्रह गर्नुभयो ।

नेपालले नाकाबन्दीको कष्ट सहेर पनि मुलुकको दीर्घकालीन हित हुने काम र योजना अहिलेदेखि बनाउन आवश्यक भएको बताउनुभयो । “नाकाबन्दीलाई देश बनाउने अवसरका रुपमा बदल्न आवश्यक छ”, उहाँले भन्नुभयो, “खाडी र मलेसियालाई समृद्ध बनाउने नेपाली हातले यसलाई अवसरका रुपमा लिएर नेपाललाई समृद्ध बनाउन आवश्यक छ । हाम्रो देश हामीले बनाउने हो अरूले बनाइदिँदैन ।”

मुलुकमा ऊर्जा सङ्कट समाधानका लागि जलविद्युत्को लगानी बढाउने र स्वदेशी कच्चापदार्थमा आधारित उद्योगको विस्तार र प्रवद्र्धनका लागि ढिलो गर्न नहुने धारणा उहाँको छ । “कृषि उत्पादन र ऊर्जा उत्पादनमा राज्यले ध्यान दिए नाकाबन्दी सजिलै पार लगाउन सकिन्छ” नेपालले भन्नुभयो ।

कार्यक्रममा वित्तीय संस्थाका सञ्चालक समिति सदस्य तथा पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले नेपालको हिमाली र पिछडिएको क्षेत्रमा सेवा दिने उद्देश्यले वित्तीय संस्था स्थापना गरिएको जानकारी दिँदै नेपालको सबै क्षेत्रमा १० वर्षभित्रमा सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल राष्ट्र बैंकबाट १० जिल्लामा कारोबार गर्ने स्वीकृत प्राप्त गरेको जनसेवी लघुवित्त वित्तीय संस्थाको अधिकृत पुँजी रु २० करोड रहेको छ । रु तीन करोड ५० लाख जारी पुँजी रहेको छ । यस्तै, रु दुई करोड २५ लाख चुक्ता पुँजी रहेको बैंकका कार्यकारी अधिकृत विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

प्रकाशित : १६ कार्तिक २०७२, सोमबार १२:४९