जलविद्युत्मा लगानी बढाउन सुझाव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जलविद्युत्मा लगानी बढाउन सुझाव



काठमाडौं । विद्युत् उत्पादन र वैकल्पिक ऊर्जाको विकासबाट निरन्तरको परनिर्भरतालाई कम गरी आर्थिक विकास गर्न सकिने भएकाले त्यसतर्फ ध्यान दिन विज्ञले सुझाएका छन् ।

संसद्को वातावरण संरक्षण समितिको आजको बैठकमा सम्बन्धित क्षेत्रका जानकारले चर्को इन्धनको सङ्कटलाई कम गर्दैै ऊर्जामा सक्षम हुनका लागि आवश्यक नीति अबलम्बन गर्नुपर्नेमा जोड दिएका हुन् । समितिले दीर्घकालीनरुपमा ऊर्जा क्षेत्रको विकासका लागि आवश्यक नीति तथा कार्यक्रमका विषयमा प्राप्त सुझाव लिइएको र यसलाई निरन्तरता दिइने समितिका सभापति जनकराज चौधरीले बताए ।

उनले विज्ञको सुझावका आधारमा ऊर्जा, उद्योग र विज्ञान, प्रविधि तथा वातारणलगायतका मन्त्री एवम् उच्च अधिकारीसँगको छलफलपछि उचित नीति तयार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

ऊर्जा योजना प्रणाली तथा विश्लेषण केन्द्रका संयोजक तथा प्रा डा अमृतमान नकर्मीले वर्तमान समयमा पेट्रोलियम पदार्थको प्रयोगलाई कम गर्न जलविद्युत्मा लगानी विस्तार गर्नुपर्ने बताए ।

उनले पेट्रोलियम पदार्थको विकल्पमा सौर्य र विद्युतीय ऊर्जाको विकासबाटै देशको विकास गर्न सकिने भएकाले त्यसतर्फ द्रुत कार्य अघि बढाउनुपर्नेमा जोड दिए ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिने र सौर्य ऊर्जाको प्रयोग तथा प्रवद्र्धनका लागि कार्यक्रम बनाएर अगाडि बढ्नुपर्ने बताए ।

सांसदहरु वीरबहादुर बलायर, मानबहादुर विश्वकर्मा र राजाराम स्याङ्तानलगायतले सङ्कटको समयमा मात्र ऊर्जा विकासका विषयमा कुरा गर्ने त्यसपछि बिर्सने परम्परागत शैलीले समस्या बल्झदै गएको बताए । उनीहरुले स्पष्ट नीतिसहित कार्ययोजना बनाएर कार्यान्वयनमा जानका लागि मन्त्रालय एवम् अन्य सरकारी संयन्त्रलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित : १६ मंसिर २०७२, बुधबार १३:४५