बैंक जाँदै हुनुहुन्छ, लोडसेडिङ तालिका हेर्नुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बैंक जाँदै हुनुहुन्छ, लोडसेडिङ तालिका हेर्नुस्



Bankकाठमाडौ। वित्तीय कारोबारका लागि बैंकमा जाँदै हुनुहुन्छ भने लोडसेडिङको तालिका हेर्न नबिर्सिनुहोला । अहिले धेरै बैंक तथा वित्तीय संस्थाले लोडसेडिङ तालिकाका आधारमा बैकिङ समय परिवर्तन गरेका छन् ।

यसैले लोडसेडिङ तालिका हेरी बत्ती आउने समयमा बैंक गएमा समय बँच्नुका साथै सेवा पनि लिन सहज हुनेछ । भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भएपछि केही बैकले कारोबार समय नै परिमार्जन गरेका हुन् । यस्ता बैंकले सार्वजनिक सूचना जारी गरी लोडसेडिङ नहुने समयमा सेवा लिन ग्राहकलाई आग्रहसमेत गरेका छन् । सेवाग्राहीले आफूलाई पायक पर्ने शाखामा लोडसेडिङ तालिकाको समूह र समय हेरेर मात्र जाँदा बुद्धिमानी हुनेछ ।

नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले असहज परिस्थितिका कारण इन्धन अभावले बैंक सञ्चालन गर्न सक्ने अवस्था नभएपछि केही बैकले लोडसेडिङको तालिकाअनुसार बैकिङ समय परिमार्जन गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । तर, कठिन परिस्थितिमा पनि बैंकले सेवा अवधि नघटाएको उनले दाबी गरे । गत वैशाखको भूकम्पपछि जोखिम मोलेर भए पनि बैंकहरूले सेवा दिएको उनले जानकारी दिए । ‘बढ्दो लोडसेडिङ र इन्धन अभावका कारणले बैंक चलाउन अप्ठ्यारो छ,’ उनले भने, ‘तर, बैकिङ समय परिमार्जन गरेर भए पनि सेवा दिइरहेका छौँ ।’ यस्तो अवस्थामा पनि तराईका केही ठाउँबाहेक मुलुकभर नियमित रूपमा बैकिङ सेवा सुचारु रहेको अध्यक्ष पौडेलले दाबी गरे ।

प्रकाशित : २३ मंसिर २०७२, बुधबार १२:२१