भरतपुरको क्यान्सर अस्पतालमा ३०० शय्या थप गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भरतपुरको क्यान्सर अस्पतालमा ३०० शय्या थप गरिने



चितवन । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ३०० शय्या थप गरिने भएको छ ।

अस्पताल परिसरमा अत्याधुनिक नयाँ भवन निर्माण भएसँगै यही साउनदेखि शय्या थप गरी ४९४ शय्या पु¥याउन लागिएको हो । हाल अस्पतालमा १९४ शय्या छ ।

अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार भवनको काम पूरा भएको र लोकसेवा आयोगमार्फत कर्मचारी भर्ना प्रक्रिया जारी रहेकाले साउनदेखि थप शय्या प्रयोगमा ल्याइने तयारी गरिएको हो । उहाँका अनुसार विसं २०५७ मा १०० शय्याबाट शुरु गरिएको अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि पटक पटक गरी ९४ शय्या थपिएको थियो ।

अस्पतालको चारतले नयाँ भवन निर्माण हेर्दै आउनुभएका रमेश पाण्डेका अनुसार सो भवन एक लाख ३० हजार स्क्वायर फिटको छ । विसं २०६९ मा निर्माण थालिएको सो भवन झण्डै रु ७० करोडको लागतमा निर्माण गरिएको हो । भवनमा सघन उपचार कक्ष, पोष्टअपरेटिभ कक्ष, मोडुलर शल्यक्रिया कक्ष, क्याबिन, चिकित्सक छलफल कक्ष, सभाहलसँगै जनरल वार्ड पनि रहेको अस्पतालले जनाएको छ ।
सो भवनको भुईतलामा दुई हजार २०० स्क्वायर फिटको खाली ठाउँसमेत छ । भवनसँगै रेडियोथेरापी बंकर पनि निर्माण गरिएको पाण्डेले बताउनुभयो । अस्पतालमा शय्याको अभावमा बिरामी भर्ना गर्न कठिन हुँदै आएको थियो । अत्याधुनिक तवरको ठूलो एउटै भवन बनेपछि अस्पतालमा सञ्चालनमा रहेका नौवटै विभागका आवश्यकअनुसार शय्या विस्तार हुने भएका छन् । कार्यकारी निर्देशक आचार्यका अनुसार सबैभन्दा बढी मेडिसिन वार्डमा बिरामीको चाप बढी हुने गर्छ ।

केमो चढाउने बिरामीलाई सो वार्डमा राखिने भएकाले त्यहाँ बिरामीको चाप हुने गरेको हो। हाल अस्पतालमा बिरामीले भर्ना भएर उपचारका लागि पालो कुर्नुपर्ने अवस्था छ ।

चीन सरकारको सहयोगमा २०५७ सालमा स्थापना भएको यस अस्पतालमा वार्षिक एक लाख ३० हजार हाराहारीले सेवा लिँदै आएका छन् । जसमध्ये आठ हजारभन्दा बढी क्यान्सरका रोगी छन् । नेपालका सबै जिल्ला र भारतीय सीमा क्षेत्रबाट पनि बिरामी यहाँ उपचारका लागि आउने गर्छन् ।

प्रकाशित : २२ असार २०७५, शुक्रबार १२:३८