को को छन् डेपुटी गभर्नरको दौडमा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

को को छन् डेपुटी गभर्नरको दौडमा ?



Nepal-Rastra-Bank_Panorama1_20111122085657काठमाडौं । बहालवाला दुई डेपुटी गभर्नरको पदावधि यही पुस १० गते सकिंदैछ । रिक्त हुनु दुई हप्ताअघि देखि नै वर्तमान कार्यकारी निर्देशकहरु डेपुटी गभर्नर बन्ने दौडमा सामेल भइसकेका छन् । नेपाल राष्ट्र बैंकको प्रावधानअनुसार गभर्नरले कायम रहेका कार्यकारी निर्देशकमध्ये ४ जनाको नाम सिफारिस गरेर मन्त्रिपरिषद्मा पठाउनुपर्छ । सिफारिस गरिएका ४ जना कार्यकारी निर्देशकमध्ये २ जनालाई मन्त्रि परिषद्ले डेपुटी गभर्नरमा नियुक्ति गर्नुपर्छ । झट्ट हेर्दा राष्ट्र बैंक भित्रैका व्यक्ति नियुक्ति गरिने भए पनि मन्त्रि परिषद्बाट निर्णय गराउनुपर्ने भएकाले यसलाई राजनीतिक नियुक्ति नै मान्नुपर्छ ।

नयाँ संविधान निर्माण सकेर हाल सरकारमा नेकपा एमालेसहित एनेकपा माओवादी र राप्रपा नेपालको गठबन्धनको सरकार छ । अर्थमन्त्रीमा एमालेका विष्णु पौडेल छन् भने गभर्नरमा निवर्तमान नेपाली कांग्रेसको सरकारले नियुक्त गरेका डा. चिरञ्जीवी नेपाल छन् ।
अर्थतन्त्रबारे कम ज्ञान भएको भनिएका अर्थमन्त्री पौडेललाई निर्णय प्रक्रियामा वर्तमान राष्ट्रिय योजना आयोग उपाध्यक्ष डा.युवराज खतिवडाले सहयोग गरिरहेका छन् । राष्ट्र बैंकको गभर्नरको कार्यवधि सफलतापूर्वक सञ्चालन गरिसकेका डा. खतिवडाको भूमिका भावी डेपुटी गभर्नर चयनमा महत्वपूर्ण हुने अड्कल काटिन थालिएको छ ।

राष्ट्र बैंकको गभर्नर नियुक्ति राजनीतिक हुने भएकाले डेपुटी गभर्नर नियुक्ति गर्दा वरिष्ठताको आधारमा गरिनुपर्ने माग कर्मचारी वृत्तमा यदाकदा उठ्ने गरेपनि गभर्नरले दैनिक काम कारवाहीमा सहयोग गर्न सक्ने व्यक्ति छानेर सिफारिस गर्ने प्रवृत्ति हावी छ । डेपुटी गभर्नर पदका लागि हालका कार्यकारी निर्देशकहरु प्रदिपराज पान्डे, हरिप्रसाद काफ्ले, त्रिलोचन पङगेनी, डा. मीनबहादुर श्रेष्ठ, महेश भट्टराई, शिवराज श्रेष्ठ, नारायणप्रसाद पौडेल, नरबहादुर थापा, डा. विनोद आत्रेय, जनकबहादुर अधिकारी, भीष्मराज ढुङ्गाना, चिन्तामणि शिवाकोटी, लक्ष्मीप्रपन्न निरौला, शंकरप्रसाद आचार्य, राजनविक्रम शाह र शिवनाथ पाण्डे प्रत्यासी हुन् । डेपुटी गभर्नर राष्ट्र बैंकको बोर्डमा समेत बरिष्ठ सदस्यको रुपमा उपस्थित रहन्छ ।
हाल प्रधानमन्त्री एवम् अर्थमन्त्री समेत एमालेकै रहेकाले एमालेकै कोटामा डेपुटी गभर्नर चयन हुने सम्भावना बढी छ । नेपाली कांग्रेसको सरकारले पुनर्निर्माण प्राधिकरणमा आफूले नियुक्त गरेका प्रमुख कार्यकारी अधिकृतकै निरन्तरता चाहेकाले डेपुटी गभर्नरको भागबण्डामा नेपाली कांग्रेस नपर्ने सम्भावना अधिक छ । तर सिफारिस गर्ने काम भने गभर्नरले गर्नुपर्ने हुँदा सम्भावना नै नभएको भने होइन ।

पूर्व गभर्नर खतिवडाको समयमा राजनीतिक भागबण्डाका आधारमा नेपाली कांग्रेसको कोटाबाट गोपालप्रसाद काफ्ले र एमालेको कोटाबाट महाप्रसाद अधिकारी डेपुटी गभर्नरमा नियुक्त भएका छन् । माधवकुमार नेपाल सरकारको पालामा गरिएको नियुक्ति आगामी पुस १० गते सकिंदैछ । पुनः सोही पार्टीका अर्का प्रधानमन्त्री केपी ओलीको काँधमा नयाँ डेपुटी गभर्नर नियुक्ति गर्ने जिम्मेवारी आइलागेको छ ।
एमालेको कोटाबाट डेपुटी गभर्नर बन्ने दौडमा लक्ष्मीप्रपन्न निरौला र भिष्मराज ढुंगाना अगाडी देखिएका छन् । राष्टपति विद्या भण्डारीको पुख्र्यौली घर विराटनगर निवासी निरौलाले सोही नातालाई भजाएर डेपुट िगभर्नर बन्ने तानाबुना बुनिरहेको राष्ट बैंक स्रोत बताउँछ । नेपाली कांग्रेसको कोटामा डेपुटी गभर्नर बन्ने दौडमा नारायण प्रसाद पौडेल, त्रिलोचन पंगेनी, डा. बिनोद आत्रेय, शिवनाथ पाण्डे अगाडी देखिएका छन् । नारायण प्रसाद पौडेल भने विष्णु पौडेलको नजिकको नातेदारको नाताले डेपुटी गभर्नर बन्ने दौडमा अगाडी बढेको राष्ट्र बैंक स्रोतले बतायो । एनेकपा माओवादीको कोटामा भने यसपटक मिनबहादुर श्रेष्ठको नाम चर्चामा छ ।

राष्ट बैंक स्रोतका अनुसार डा. नेपालले सम्भवत एमाले कोटाबाट लक्ष्मीप्रपन्न निरौला, भिष्मप्रसाद ढुंगाना, काग्रेसबाट नारायण पौडेल र माओवादीका मिनबहादुर श्रेष्ठको नाम सिफारिस गर्नेछ । राजनीतिक सहमतिमा संविधान निर्माणको चुनौतीपूर्ण काम समापन गरेको सुशील कोइरालाले भद्र सहमति मान्न अस्वीकार गरेर केपी ओलीलाई प्रधानमन्त्री बन्न मार्ग प्रशस्त नगरेकाले सम्भवत कांग्रेसी कोटाबाट डेपुटी गभर्नर नियुक्त हुने छैन अर्थको अर्थमा खबर छ । एमाले र माओवादी कोटाबाट एक एक जना डेपुटी गभर्नर बन्ने सम्भावना प्रवल रहेको अर्थमन्त्री निकट उच्च स्रोतले बतायो ।

प्रकाशित : ६ पुष २०७२, सोमबार १४:०९