अविरल वर्षाले भक्तपुरमा एकै परिवारका तीनको मृत्यु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अविरल वर्षाले भक्तपुरमा एकै परिवारका तीनको मृत्यु



भक्तपुर ।गएरातिदेखि परेको अविरल वर्षाले आएको बाढी र पहिरोका कारण भक्तपुरमा तीन जनाको मृत्यु भएको छ । वर्षाले चाँगुनारायण नगरपालिका–७ तेलकोटस्थित मजुवामा आएको पहिरोले एक टहरो पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ७० वर्षीय हीरा लामा, ६५ वर्षीया पानमाया लामा र साढे दुई वर्षीया सम्पदा लामा रहेको भक्तपुर महानगरीय प्रहरी परिसरका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । अविरल वर्षाले सूर्यविनायक नगरपालिकाको आशापुरीमा एक घर भत्किएको छ ।

वर्षाका कारण आएको बाढीले डुबानमा परेका १०० भन्दा बढीको उद्धार गरिएको र उद्धारमा थप कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । अविरल वर्षाले हनुमन्ते र खस्याङखुसुङ खोलामा आएको बाढीले भक्तपुरको महेश्वरीदेखि दक्षिण पश्चिम मध्यपुरथिमि वडा नं १ लोकन्थलीसम्मको भू–भाग डुबानमा परेको छ । हनुमन्ते खोलामा आएको बाढीले हनुमानघाटस्थित परोपकार केन्द्र, सिद्धीस्मृति बाल अस्पताल, राममन्दिर, सल्लाघारीस्थित डा युवामुरा अस्पताल, मध्यपुरथिमिस्थित मध्यपुरथिमि अस्पतालसमेत जलमग्न भएको छ ।

खस्याङखुसुङ खोलामा आएको बाढीले मध्यपुरथिमिको राधेराधे क्षेत्र डुबानमा पर्दा सयौँ परिवार विस्थापित भएका छन् । रातिदेखि डुबानमा पर्न थालेपछि उद्धारको कार्य शुरु गरेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो । उहाँका अनुसार क्षतिको थप विवरण आउनेक्रम जारी छ ।

बाढीका कारण हनुमन्ते खोलाको पुलसमेत खतरामा परेको छ । बाढीले जगातीदेखि थिमिको राधेरोधसम्मको सडक अवरुद्ध भएको छ । राधेराधे क्षेत्रको डुबानले थिमिबाट भक्तपुरतर्फको सवारी आगमन ठप्प भएको छ । भक्तपुरबाट थिमितर्फ एकतर्फी खुला भए पनि भक्तपुरतर्फ जाने सडक बन्द हुँदा सवारी साधनको जाम कौशलटारसम्म पुगेको छ ।

प्रकाशित : २८ असार २०७५, बिहीबार १२:३५