सात हजार टन रासायनिक मल बिक्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सात हजार टन रासायनिक मल बिक्री



धनगढी ।कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले बर्खे धानका लागि सात हजार ३०० टन रासायनिक मल बिक्री गरेको छ ।

सरकारको अनुदानित मल बिक्री वितरण गर्दै आएको सो कार्यालयले गएको चैतदेखि हालसम्म डिएपी दुई हजार ७७४, युरिया चार हजार ४८१ र पोटास ९५ टन मल बिक्री गरेको छ ।

दुई सय २५ भन्दा बढी सहकारी संस्थामार्फत कम्पनीले उक्त अनुदानित मल बिक्री वितरण गर्दै आएको छ । कम्पनीले डिएपी प्रतिक्विन्टल रु चार हजार ५५२, युरिया रु एक हजार ६५२ र पोटास रु तीन हजार ३५२ मा सहकारीलाई बिक्री गर्दैआएको छ ।

सहकारी संस्थाले ढुवानी र प्रशासनिक खर्च जोडेर किसानलाई मल बिक्री गर्ने गरेको छ । कार्यालय प्रमुख दुर्गाप्रसाद पाण्डेयका अनुसार कम्पनीको गोदाममा आहिले युरिया ६६० टन, डिएपी ५६ टन र पोटास १६६ टन मौज्दात छ । धानखेती गर्न कैलालीमा वर्षेनी रासायनिक मलको खपत बढ्दै गएको पाण्डेयले बताउनुभयो ।

खपत वर्षेनी बढ्दै जाँदा १५ प्रतिशतभन्दा बढी परिमाणको मल आपूर्ति गरेर बिक्री गर्नुपरेको कार्यालय प्रमुख पाण्डेयले बताउनुभयो । प्रदेश नं ७ को डोटी र कञ्चनपुर बाहेकका जिल्लामा कृषि सामग्री कम्पनी धनगढी कार्यालयमार्फत मल बिक्री वितरण गरिँदै आएको छ ।

प्रकाशित : २९ असार २०७५, शुक्रबार १५:२९