खुला विश्वविद्यालयद्वारा थप कार्यक्रम सञ्चालन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

खुला विश्वविद्यालयद्वारा थप कार्यक्रम सञ्चालन गर्ने



काठमाडौँ । खुला विश्वविद्यालयले व्यवस्थापन तथा कानून संकायअन्तर्गत थप चारवटा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

विश्वविद्यालयप्रति विद्यार्थीको आकर्षण बढेपछि स्नातकोत्तर तह र स्नातक तहमा थप कार्यक्रम सञ्चालन गर्न लागिएको विश्वविद्यालयका उपकुलपति डा लेखनाथ शर्माले जानकारी गराउनुभयो ।

जेठ १३ गतेदेखि पहिलोपटक कक्षा सञ्चालन गरेको खुला विश्वविद्यालयले भदौदेखि कक्षा सञ्चालन गर्नका लागि थप चार कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो ।

उहाँका अनुसार स्नातकोत्तर तहमा व्यवस्थापन प्रशासन (एमबिए) र विकास, व्यवस्थापन र सरकार (एमएसडिएमजी) तथा स्नातक तहमा कानूनमा (एलएलबी) र व्यवस्थापनमा वाणिज्य विज्ञान (बिबिएस) तहको कक्षा सञ्चालन गर्न थालेको छ ।

कक्षा सञ्चालन गर्नका लागि विश्वविद्यालयले विद्यार्थीलाई प्रवेश परीक्षाका लागि फारामसमेत खुलाइसकेको छ ।

उहाँले प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई भदौको पहिलो हप्तादेखि कक्षा सञ्चालन गरिने जानकारी गराउनुभयो ।

अहिले खुला विश्वविद्यालयले भौतिक पूर्वाधार र प्राध्यापकको कमीले गर्दा ५० जनामात्र भर्ना गर्ने उहाँले बताउनुभयो ।

पहिलोपटक नेपालमा खुलेको खुला विश्वविद्यालयमा नयाँ विषय र घरमा बसी पढ्न सकिने भएकाले आकर्षण बढेको हो ।

विद्यार्थी पैसा र समय भएर पनि नियमित रूपमा कलेज वा विश्वविद्यालयको कक्षामा जान नसक्ने र वर्षाैंदेखि पढाइ छुटेकाहरुले जुनसुकै स्थानबाट पढ्न सक्ने भएकाले खुला विश्वविद्यालयप्रति आकर्षण बढेको पाइएको छ ।

विश्वविद्यालयले अनलाइनको माध्यमबाट प्राध्यापकले बेलुका ६ देखि ९ बजेसम्म पढाउने गरेका छन् ।

इन्टरनेटका माध्यमबाट अध्ययन गराइने विश्वविद्यालयमा डिप्लोमा, पोष्ट ग्य्राजुएट, स्नातकोत्तर, एमफिल र विद्यावारिधिसम्मको कक्षा सञ्चालन गर्ने उपकुलपति शर्माले बताउनुभयो ।

उहाँले प्राध्यापक र विद्यार्थीबीच सहकार्य गर्नका लागि प्रत्येक सेमेष्टरमा विद्यार्थीसँग प्रत्यक्ष अन्तरक्रियासमेत गरिँदै आएको जानकारी गराउनुभयो ।

विश्वविद्यालयले अध्ययनका लागि अध्ययन सामग्री छलफल सामग्री र इ–लाइब्रेरी अनलाइनमा राखिएका हुन्छन् ।

विश्वविद्यालय अहिले डेढ वर्षीय पाठ्यक्रमअन्तर्गत सामाजिक विज्ञान र सूचना प्रविधिमा एमफिल, एक वर्षीय पाठ्यक्रमअन्तर्गत दूर तथा ‘इ–लर्निङ’मा पोष्ट ग्य्राजुएट तथा पुस्तकालय र सूचनामा डिप्लोमा एवं दुई वर्षीय स्नातकोत्तर तहको इ–गभर्नेन्स विषयमा पढाइ सञ्चालन गरिएको छ ।

व्यवस्थापन र कानून संकाय, सामाजिक शास्त्र तथा शिक्षा संकायबाट साधारण विषयदेखि इञ्जिनियरिङसम्म र विज्ञान, स्वास्थ्य र प्रविधि संकायबाट प्राविधिक तथा व्यावसायिक सीपदेखि विज्ञान विषयको अध्ययन हुने गर्छ ।

प्रकाशित : ३१ असार २०७५, आईतवार १४:५०