सरकारले तिर्यो ७२ अर्ब ऋण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सरकारले तिर्यो ७२ अर्ब ऋण



काठमाडौं । गत आर्थिक वर्ष २०७४/७५ मा सरकारले ७१ अर्ब ९२ करोड ऋण तिरेको छ । अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा ७१ अर्ब २८ करोड ऋण तिरेको थियो । सरकारले गएको वर्ष भुक्तान गरेको ऋणमध्ये ४९ अर्ब ४७ करोड आन्तरिक ऋण हो भने १९ अर्ब २५ करोड बहुपक्षीय वैदेशिक ऋण भएको महालेखा नियन्त्रक कार्यालयका सूचना अधिकृत जगन्नाथ देवकोटाले बताए ।

सरकारले गएको आवमा तीन अर्ब १९ करोड द्विपक्षीय ऋण तिरेको छ । अघिल्लो आवमा ४५ अर्ब ३२ करोड आन्तरिक ऋण तिरेको थियो । त्यस्तै २२ अर्ब ४३ करोड बहुपक्षीय र तीन अर्ब ५३ करोड द्विपक्षीय ऋण भुक्तान गरेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ ।

आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार हाल नेपालको आन्तरिक र बाह्य गरी कुल ऋण आठ खर्ब ४२ अर्ब ८८ करोड पुगेको छ । सो ऋण सरकारले चालू आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटको चालू खर्चकै जति छ । सो ऋण कुल गार्हस्थ्य उत्पादनको २८ प्रतिशत हो । अघिल्लो आर्थिक वर्षमा यस्तो ऋण ६ खर्ब ९६ अर्ब थियो । गएको आवमा प्रत्येक नेपालीको भारमा २८ हजार नौ सय पर्न आउँछ ।

सरकारले आगामी आवमा आन्तरिक र वैदेशिक गरेर करिब चार खर्ब २५ अर्ब ऋण लिने उल्लेख गरिएको छ । सो ऋणमध्ये एक खर्ब ७२ अर्ब आन्तरिक र दुई खर्ब ५३ अर्ब वैदेशिक ऋण हो ।

प्रकाशित : २ श्रावण २०७५, बुधबार १३:५६