सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट हुँदै



काठमाडौं । साइबर सूरक्षाबारे अन्तर्राष्ट्रिय स्तरमा सहकार्य गर्ने तथा नेपालीहरुलाई यस विषयमा सचेत गराउने उद्धेश्यका साथ साउन ११ र १२ गते राजधानीमा सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट २०१८ हुने भएको छ ।

‘बिल्डिङ ग्लोबल एलायन्स फर साइबर रिजेलियन्स’ भन्ने मूल नारासहित हुने समिट होटल र्याडिसनमा आयोजना हुनेछ । यस समिटको पूर्वसंध्यामा साउन ११ गते नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानमा प्रि–समिट वर्कसप सञ्चालन हुनेछ ।

विश्वप्रसिद्ध आइटी र नेटवर्किङ कम्पनी सिस्कोको मुख्य प्रायोजन तथा टेक्सास इन्टरनेशनल कलेज, लगप्वइन्ट र चेकप्वइन्टको सहप्रायोजनमा हुने यस ग्लोबल साइबर सेक्युरिटी समिट २०१८ मा सूचना प्रविधि क्षेत्रमा आबद्ध व्यावसायिक व्यक्तिहरु, सुरक्षा विज्ञहरु, सरकारी अधिकारीहरु, व्यवसायीका साथमा विद्यार्थीहरुको सहभागिता हुनेछ ।

समिटको पूर्वसंध्यामा हुने प्रि–समिट वर्कसपलाई लावा, चेक प्वाइन्ट सफ्टवेयर टेक्नोलोजिज् र इसी काउन्सिलले सहजीकरण गर्नेछन्, जुन समिटको दिनमा पनि निरन्तर हुनेछ । समिटको अवसरमा विश्वपरिवेशमा साइबर सुरक्षाका विभिन्न आयमबारे छलफल हुनेछ । विशेषगरी साइबर कानून, साइबर नीति र साइबर सुरक्षाका अभ्यासहरुबारे विश्लेषण र निदानका विषयमा समिटमा गम्भीर रुपमा छलफल हुने छ । व्यापार तथा वित्त क्षेत्रको आवश्यकताअनुसार साइबर सुरक्षाका नयाँ क्षेत्रहरुको पहिचान पनि समिटमा हुने छ ।

यही समिटमार्फत् साइबर रिजलेन्सका लागि विश्व गठबन्धनसमेत निर्माण गरिने छ भने साइबर सेक्युयुरिटीसम्बन्धी पूूर्वाधार निर्माण गर्न विश्वव्यापी रुपमा भइरहेका अभ्यासहरुको जानकारी समेत दिइनेछ । समिटमा साइबर सुरक्षाका जोखिम न्यूनिकरण गर्ने, साइबर सुरक्षा विश्लेषण गर्ने, रिकभरी र रेस्पोन्सका स्किलहरु बढाउने, नेपालमा नेशनल सर्टको लागि आधार तयार पार्नेलगायतका विषयमा गम्भीर छलफल हुनेछ ।

समिटमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुबाट विभिन्न कार्य प्रस्तुती, प्यानल डिस्कसन, र की–नोट लेक्चर दिईनेछ । सहभागीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरु, व्यवसायीहरु, सरकारी अधिकारीहरु, कर्मचारीहरु, क्लाइन्ट र ग्राहकहरुबिच अन्तरक्रिया गर्न सक्नेछन् । यो समिटलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी, नेपाल बैंकर संघ, क्यान महासंघ, इन्टरनेट सोसाईटी, नेपाल च्याप्टर र अन्य विभिन्न संघसंस्थाहरुले सहयोग गरेका छन् ।

समिटको की–नोट स्पिकरमा आइक्यानका एसिया प्यासिफिक स्ट्याबिलिटी एन्ड रिजलेन्स म्यानेजर चाम्पिका वाइजायातुङ्गा र सिस्कोको भारत तथा सार्क क्षेत्र हेर्ने पार्टनर बिजनेश ग्रुपका सेक्युरिटी लिड विवेक श्रीवास्तव रहेका छन् । यसका साथमा अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरुको समिटमा प्रस्तुति रहनेछ । समिटमा सहभागी हुन चाहने व्यक्तिहरुले एनपीसर्टको वेबसाइटमा गई रजिस्ट्रेसन गर्न सक्नेछन् ।

प्रकाशित : ७ श्रावण २०७५, सोमबार १७:३३