राष्ट्रियसभाको बैठकः सांसदहरुबीच भनाभन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

राष्ट्रियसभाको बैठकः सांसदहरुबीच भनाभन



काठमाडौं । राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगन भएको छ । बैठकको शुरु मै काँग्रेसका सदस्यहरूले आसनबाट उभिएर विरोध जनाइरहँदा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिएका थिए।

काँग्रेस सदस्यहरुले प्रमुख प्रतिपक्षीभन्दा अघि सत्ता पक्षका सदस्यलाई बोल्न समय दिएको भन्दै आपत्ति जनाएपछि केही समय प्रतिपक्षी दलका सदस्य र सत्तापक्षका सदस्यबीच बैठकमा भनाभन भएको थियो । अध्यक्ष तिमिल्सिनाको पटक पटकको आग्रपछि पनि काँग्रेसका सदस्यहरुले आसन ग्रहण नगरेकाले बैठक स्थगन गरिएको थियो ।

प्रतिपक्षले विरोधका जनाइरहँदा पनि नेकपाका प्रमुख सचेतक भट्टराईले पछिल्लो समय विकसित राजनीतिक घट्नाप्रति सत्तापक्ष जिम्मेवार रहेकोले सदनलाई रोक्नु आवश्यक नरहेको धारणा राख्दै कार्यसूचीमा प्रवेश गर्न अध्यक्षसंग आग्रह गरे ।

आजको बैठकमा अध्यक्षबाट राष्ट्रियसभाका विषयगत समितिमा रहनुहुने सदस्यहरुको नाम मनोनयन गर्ने कार्यसूची थियो । राष्ट्रियसभाको अर्को बैठक यही साउन ९ गते बिहान ११ बजे बस्नेछ ।

प्रकाशित : ८ श्रावण २०७५, मंगलवार १२:३९