फ्रान्सले पुनर्निर्माणमा थप सहयोग गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

फ्रान्सले पुनर्निर्माणमा थप सहयोग गर्ने



650x426xArtha.JPG.pagespeed.ic.pSGc18ksIYकाठमाडौं । नेपालका लागि फ्रान्सका राजदूत मार्टिन बासेरोले अर्थमन्त्री डा रामशरण महतसँग पुनर्निर्माण सहायताका बारेमा छलफल गरेकी छन् । उनले नेपालले गर्न लागेको सहायता सम्मेलनका विषयमा पनि अर्थमन्त्रीसँग छलफल गरिन् ।

भूकम्पको क्षति र फ्रान्सले गरेको उद्धार सहयोगका विषयमा छलफल भएको अर्थमन्त्रालयले जनाएको छ । अर्थमन्त्री डा महतले भूकम्पले नेपालको निजी घर तथा सम्पत्ति, सरकारी कार्यालय, हस्पिटल, विद्यालय, राष्ट्रिय अन्तर्राष्ट्रिय सम्पदाहरुमा ठूलो क्षति पुर्‍याएको बताए । सरकारले ती संरचना छिटै पुनर्निर्माण गर्न योजना बनाइरहेको जानकारी पनि उनले दिए ।

पुनर्निर्माणका लागि मित्रराष्ट्र तथा दातृ निकायहरुबाट ठूलो सहयोगको आवश्यकता रहेको अर्थमन्त्रीले राजदूतसँग बताए । उनले भूकम्पले नेपालको अर्थतन्त्रमा पुर्‍याएको क्षति र सरकारले अर्थतन्त्रलाई चलायमान गराउन लिएको निर्णयबारे जानकारी दिएका थिए ।

भूकम्पले दैनिक आर्थिक गतिविधिहरुका अतिरिक्त रियलस्टेट, पर्यटन र जलविद्युत आयोजनाहरुमा धक्का पुगेको उनले बताए । फ्रान्सले पनौतीका स्मारक तथा सम्पदाहरुको संरक्षणमा गरेको सहयोगको प्रशंसा गर्दै अर्थमन्त्री डा महतले भने, ‘मैले भूकम्पले क्षति पुर्‍याएका स्मारकस्थलको निरीक्षण गरेको छु । पनौतीमा नोक्सानी भएको छैन । तर अन्य स्थानहरुमा सम्पदाहरुको ठूलो क्षति भएको छ । यी सम्पदाहरुको पुनर्निर्माणमा फ्रान्सले सहयोग गरोस भन्ने हाम्रो चाहना हो ।’

आगामी असारकमा आयोजना हुने नेपाल सहायता सम्मेलनमा उच्चस्तरीय सहभागिताको अपेक्षा गरिएको र मोटामोटी सहायताको घोषणा होस भन्ने नेपालको चाहना रहेको उनले बताए ।

राजदूत बासेरोले भूकम्पले ठूलो क्षति पुर्‍याएको, कतिपय ठाउँमा आफू पनि गएर अवलोकन गरेको र थाहा पाउनासाथ उद्धार तथा राहतमा सहयोग गरिएको जानकारी दिइन् । उनले आगामी दिनमा पनि सहयोग गर्न फ्रान्स सरकार तयार रहेको जानकारी पनि दिएकी छन् ।

प्रकाशित : ६ जेष्ठ २०७२, बुधबार १४:४६