आँखु खोलाको रु. ८ करोडको आइपीओ साउन १७ देखि निश्कास हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आँखु खोलाको रु. ८ करोडको आइपीओ साउन १७ देखि निश्कास हुने



काठमाण्डौ । आँखु खोला हाइड्रो पावर कम्पनीले साउन १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएको छ ।

यो कम्पनीकाले आफ्नो चुक्तापूँजीको १० प्रतिशतले हुन आउने ८ करोड रुपैयाँ बराबरको आइपीओ आयोजनास्थल धादिङबासीलाई निश्कासन गर्न लागेको हो । तर स्थानीयले शेयर खरिद गरेमा शेयर बाँडफाँट भएको मितिले ३ बर्षसम्म बिक्री वा हस्तान्तरण गर्न पाउने छैनन् ।

आइपीओमा छिटोमा साउन ३१ गतेभित्र र ढिलोमा भदौ १५ गतेभित्रसम्म आवेदन दिइसक्नुपर्नेछ ।

आँखु खोला हाइड्रोलाई धितोपत्र बोर्डले असार २७ गते सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि कुल २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आइपीओ निश्कासनको अनुमति दिएको थियो ।

यही क्रममा पहिलो चरणमा आयोजना प्रभावितलाई सेयर बिक्री गर्न लागेको हो । त्यसपछि कम्पनीले दोश्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि चुक्तापूँजीको १५ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्नेछ । स्थानीयले समेत सबै सेयर नकिने बाँकी रहेको सेयर समेत सर्वसाधारण लगानीकर्ताका लागि नै निश्कासन गरिने बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।

हाल कम्पनीको चुक्तापूँजी ६० करोड रुपैयाँ रहेको छ । आइपीओपछि बढेर ८० करोडको उचाईमा पुग्नेछ ।

इक्रा नेपालले आँखु खोला जलविद्युत कम्पनी लिमीटेडको आइपीओ ग्रेड फाइभको ग्रेडिङ्ग प्रदान गरेको छ । यसको अर्थ यो कम्पनीको अवस्था औसत भन्दा कमजोर छ भन्ने हो ।

इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ, जसमा ग्रेड-१ ले बलियो आधारहरु जनाउँछ भने ग्रेड-५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँदछ ।

यस कम्पनीबाट प्रवद्धित आँखुखोला–१ जलविद्युत आयोजना निर्माण सम्पन्न भई विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको कुल लागत २४२.७३ करोड रहेको छ । आयोजना निर्माण सम्पन्न भई मिति २०७० साल भाद्र ८ गतेदेखि व्यवसायिक उत्पादन सुरु भइसकेको छ ।

कम्पनीबाट निर्माण सम्पन्न भई संचालनमा रहेको जलविद्युत आयोजनाको क्षमता ८.४ मे.वा. रहेको छ । आयोजनाबाट उत्पादित वार्षिक ४६ गिगावाट विद्यूत शक्ति नेपाल प्राधिकरणको केन्दीय प्रसारण लाइनमा समावेश गरिएको छ ।

कम्पनीले आइपीओबाट संकलित रकम आँखुखोला १ जलविद्युत आयोजना निर्माण गर्ने क्रममा लिएको सहवित्तियकरण कर्जा आंशिक रुपमा भुक्तानीमा प्रयोग गर्ने प्रष्ट्याएको छ ।

प्रकाशित : ९ श्रावण २०७५, बुधबार ११:२०