६ म्युचुअल फण्डले गैरकानूनी रुपमा मुद्धतीमा पैसा राखेको पुष्टि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

६ म्युचुअल फण्डले गैरकानूनी रुपमा मुद्धतीमा पैसा राखेको पुष्टि



काठमाण्डौ । तोकिएको सीमा भन्दा बढी बैंक निक्षेपमा पैसा जम्मा गरी दोश्रो बजार चौपट बनाएको आरोप खेपिरहेका म्युचुअल फण्डहरुका व्यवस्थापकहरुसँग धितोपत्र बोर्डले स्पष्टीकरण सोधेको छ ।

बोर्डले बैंक निक्षेपमा योजनाको कुल सम्पत्तिको दश प्रतिशतभन्दा बढी नहुने गरी लगानी गर्नुपर्ने व्यवस्थाविपरीत पैसा जम्मा गरेको भेटिएपछि केही स्किमका व्यवस्थापकलाई १५ दिने स्पष्टीकरण सोधेको हो ।

म्युचुअल फण्डहरुले कानूनी व्यवस्थाको धज्जी उडाउँदै मुद्धती निक्षेपमा पैसा राख्दा दोश्रो बजार नराम्ररी प्रभावित भइसकेको छ । बजारको निरन्तरको गिरावट पछाडि केही म्युचुअल फण्डको फट्याईँ मुख्य कारक देखिएपछि बोर्ड एक्सनमा गएको स्रोतको भनाई छ ।

बोर्डले सिटिजन म्युचुअल फण्ड-१ को योजना व्यवस्थापक सिबिआइएल क्यापिटल, एनएमबी म्युचुअल फण्ड-१ अन्तरगतको एनएमबी सुलभ इन्भेष्टमेन्ट-१ र एनएमबी हाइब्रिड फण्ड-१ को योजना व्यवस्थापन एनएमबी क्यापिटल, लक्ष्मी म्युचुअल फण्ड अन्तरगतको लक्ष्मी इक्वीटी फण्ड र लक्ष्मी भ्यालू फण्ड-१ को योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमीटेड र एनआइसी एशिया म्युचुअल फण्ड अन्तर्गतको एनआइसी एशिया ग्रोथ फण्डको योजना व्यवस्थापक एनआइसी एशिया क्यापिटललाई बोर्डले स्पष्टीकरण सोधेको हो ।

यी योजनाहरुले बोर्डमा पेश गरेको मासिक खूद सम्पत्ति सम्बन्धी विवरण अनुसार उक्त योजनाको रकम लगानी गर्दा बैंक निक्षेपमा तोकिएको सीमाभन्दा बढी हुने गरी लगानी गरेको पाइएको समेत बताइएको छ ।

‘यो बिषयमा बोर्डले स्थलगत निरीक्षण गर्दा समेत म्युचुअल फण्डहरुले गैरकानूनी ढंगले लगानी गरेका पाइएकोले यस कार्यबाट सामूहिक लगानी कोष नियमावली २०६७ को नियम ३६ को (१) को खण्ड ङ को व्यवस्थाको पालना नगरेको नदेखिएको हुँदा उक्त योजना व्यवस्थापकहरुलाई कारबाही  किन नगर्ने भनी १५ दिनको म्याद दिई स्पष्टीकरण माग गरिएको छ ।’-बोर्डको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : ११ श्रावण २०७५, शुक्रबार ११:२४