आजदेखि शिवमको आइपीओ निश्कासन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आजदेखि शिवमको आइपीओ निश्कासन



काठमाण्डौ । शिवम् सिमेन्टस् लिमीटेडले आज(साउन १३ गते)देखि आयोजना प्रभावित मकवानपुर जिल्लाबासीका लागि प्रिमियम मूल्यमा आइपीओ निश्कासन गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३०० रुपैयाँको दरले ८ लाख ८० हजार कित्ता आइपीओ निश्कासन गरेको हो ।

आइपीओ खरीदका लागि भदौ ११ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।

कम्पनीको आइपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

इच्छुक आयोजना प्रभावितले सीआस्वामार्फत वा तोकिएका संकलन केन्द्रमा  सोझै गएर समेत आइपीओ खरीदका लागि दरखास्त दिन सक्ने व्यवस्था गरिएको छ । शिवमले दोश्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि समेत आइपीओ निश्कासन गर्ने भएकोले मकवानपुरका बासिन्दाले सर्वसाधारणका लागि निश्कासन गरिएको आइपीओमा भने आवेदन दिन पाउने छैनन् ।

शिवमले दोश्रो चरणमा सर्वसाधारणका लागि प्रिमियम मूल्यसहित प्रतिकित्ता ४४ लाख कित्ता आइपीओ निश्कासन गर्ने योजना बनाएको छ । आयोजना प्रभावित र सर्वसाधारणलाई गरी कम्पनीले कुल ५२ लाख ८० हजार कित्ता आइपीओ निश्कासन गर्न लागेको हो ।

आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ ।

इक्रा नेपालले शिवम्को आइपीओलाई ग्रेड थ्रीको रेटिङ दिएको छ, यसको अर्थ कम्पनीको अवस्था औसत रहेको भन्ने बुझिन्छ ।

शिवम् सिमेन्ट लिमीटेडले गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ९३ करोड ६६ लाख खूद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षमा भने कम्पनीको नाफा ८१ करोड ११ लाखमा सीमित थियो ।

तेश्रो त्रैमासमा कम्पनीको संचालन तथा बिक्रीबाट हुने आम्दानी ७ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।

कम्पनीको हाल चुक्तापूँजी ३ अर्ब ८७ करोड, रिजर्ब २ अर्ब १६ करोड, वार्षिकीकृत प्रतिसेयर आम्दानी ३२।२५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५५.९१ रुपैयाँ रहेको छ ।

आइपीओ जारी गरेपछि कम्पनीको चुक्तापूँजी ४ अर्ब ४० करोडको उचाईमा पुग्नेछ ।

 

प्रकाशित : १३ श्रावण २०७५, आईतवार ११:२२