चौबिसै घण्टा खुल्ने पेट्रोल पम्प खोल्ने निगमको योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

चौबिसै घण्टा खुल्ने पेट्रोल पम्प खोल्ने निगमको योजना



काठमाडौं । नेपाल आयल निगमले काठमाडौंमा २४ घण्टा खुल्ने गरी नमूना (स्मार्ट) पेट्रोल पम्प चलाउने योजना अघि सारेको छ । निगमले काठमाडौंमा २४ घण्टा नै सेवा दिने गरी पम्पहरु सञ्चालनमा नरहेको ठहर गर्दै सर्वसाधारणको सुविधाका लागि नमूना पम्प सञ्चालनको योजना अघि सारेको हो ।

आयल निगमका सञ्चालक समितिका अध्यक्ष तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरेले आयल निगमले उपत्यकामा हरेक समय सेवा दिने गरी पट्रोल पम्प सञ्चालन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । उनले शुक्रबार भएको साधाराणसभामा पनि यसबारे जानकारी गराएका थिए ।

काठमाडौंमा यस किसिमको पम्प आवश्यक रहेकाले योजना अघि सारिएको निगमका कार्यकारी निर्देशक सुशिल भट्टराईले जानकारी दिए ।

यसैगरी प्रत्यक प्रदशेमा निगमकै स्वामित्वमा एक-एक वटा नमूना पेट्रोल पम्प सञ्चालनको योजना पनि निगमले बनाएको छ । यसअघि निगमले निजी क्षेत्रलाई पनि नमूना पेट्रोल पम्प सञ्चालनका लागि प्रस्ताव मागेको थियो ।

जोखिम न्यूनीकरण र आधुनिकता भित्र्याउन भन्दै सरकारले शुरु गरेको नमूना पेट्रोल पम्पमा धेरै व्यवसायीले अनिच्छा प्रकट गरेका थिए ।

परम्परागत पम्पलाई विस्थापन गर्न भन्दै नेपाल आयल निगमले नमूना पेट्रोल पम्पको अवधारणा ल्याएको थियो । उक्त अवधारणा अनुरुप निगमले दुई पटकसम्म व्यवसायीबाट आवेदन माग गरेपनि अपेक्षित रुपमा आवेदन प्राप्त गर्न सकेको छैन भने निर्माणका लागि पनि अत्यन्तै कम व्यवसायीले मात्र स्वीकृति लिएका छन् ।

आयल निगमका अनुसार दुई पटक गरेर माग गरिएको आवेदनमा ९५ व्यवसायीले आवेदन बुझाएका थिए ।
नमूना पम्पका लागि काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) बाट जम्मा ३ वटामात्र आवेदन परेको थियो ।
नमूना पम्प स्थापनाका लागि हालसम्म जम्मा १० व्यवसायीलेमात्र निगमबाट स्वीकृति लिएका छन् ।

नेपाल पेट्रोलियम डिलर्स एसोसियसनका अध्यक्ष लिलेन्द्र प्रधान नमूना पम्पका लागि निगमले तोकेको प्रक्रिया र मापदण्डमै आफूहरुको असन्तुष्टि रहेको बताए । काठमाडौं उपत्यकामा निगमले तोकेको मापदण्ड अनुसार पम्प स्थापना गर्न झण्डै ५० करोड रुपैयाँ लाग्छ ।

कस्तो हुन्छ ‘स्मार्ट पेट्रोल पम्प’ ?

निगमका अनुसार नमूना पम्प अत्याधुनिक सुविधासम्पन्न हुनेछन् । यस्तो पम्प हालसम्म नेपालमा छैन । नमूना पेट्रोल पम्प अत्याधुनिका सुविधा सम्पन्न हुनेछन् ।

नमूना पम्प विक्रीस्थलको जग्गाको क्षेत्रफल तराई तथा भित्री मधेस जिल्ला उदयपुर, चितवन, मकवानपुर, सिन्धुली, दाङ र सुर्खेतको पहाडी क्षेत्रबाहेकमा एक विगाहा र पहाडी क्षेत्र तथा हिमाली क्षेत्रमा पाँच रोपनी हुनुपर्नेछ ।

राजमार्ग वा अन्य सडकबाट करीव ५ सय मिटरभित्रको जग्गामा नमूना पम्पको विक्रीस्थल निर्माण गर्न पाइनेछ । उक्त बिक्रीस्थलसम्म जाने सडक १० मिटर फराकिलो हुनुपर्ने छ ।

विक्रीस्थलको कम्पाउण्डभित्र एप्रोच रोड, टैंक फार्म, विक्रीकक्ष, पार्किङ एरियाबाहेक सवारी साधन आवतजावतमा बाधा नपर्ने गरी हरियाली कायम हुनुपर्नेछ ।

बिक्रीस्थल क्षेत्रको तीनतर्फ कम्तीमा तीन फिट र बढीमा पाँच फिटसम्म उचाइ भएको पक्की कम्पाउण्ड वाल वा सिमेन्ट पिलरमा काँडेतार लगाएको हुनुपर्नेछ ।

त्यस्तै, पम्पको विक्रीकक्षमा पुरुषको हकमा न्यूनतम २ वटा शौचालयसहित युरीनरी र महिलाको हकमा न्यूनतम ४ वटा ट्वाइलेट र अपांगमैत्री १ वटा ट्वाइलेटको व्यवस्था हुनुपर्ने व्यवस्था आयल निगमले गरेको छ । नियमित विद्युत आपूर्ति बन्द भएको समयमा बत्तीको बैकल्पिक व्यवस्था गर्नुपर्ने व्यवस्था पनि गरिएको छ । अग्निसुरक्षाको पनि उचित व्यवस्था पनि स्मार्ट पम्पले गर्नुपर्नेछ ।

निगमले तयार गरेको मापदण्डमा पम्पले एकैपटकमा ८ वटा सवारीमा तेल भर्न मिल्ने गरी व्यवस्था गर्नुपर्नेछ । एकपटकमा कम्तीमा ४ वटा पेट्रोल नोजल र ४ वटा डिजेल नोजलबाट रिफिलिङ गर्नेगरी पम्पले व्यवस्था गर्नुपर्नेछ । न्यूनतम २० वटा साना तथा ठूला गाडी पार्क गर्न मिल्ने ५ सय बर्गमिटरको पार्किङ क्षेत्रको व्यवस्था हुनुपर्नेछ ।

पम्पमा इलेक्ट्रोनिक्स कार्डबाट समेत खरीद गर्न मिल्ने व्यवथा हुनुपर्नेछ भने विक्रीस्थलमा भेन्डिङ मेसिन र किराना पसलको व्यवस्था समेत हुनुपर्नेछ । नमूना पम्पले चुस्त सुरक्षा व्यवस्थासहित २४ सै घण्टा सेवा प्रदान गर्नुपर्ने हुन्छ । पम्पभित्र रेष्टुराँ र कफिसप पनि हुनुपर्नेछ ।

न्यूनतम २० जनाले आरामपूर्वक खान मिल्ने रिफ्रेसिङ हाउस तथा कफिसप लगायतको व्यवस्था पनि हुनुपर्नेछ ।

प्रकाशित : १३ श्रावण २०७५, आईतवार १२:१३