कलंकीको जस्तै अन्डरपास बानेश्वर, कोटेश्वर र महाराजगन्जमा पनि बनाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कलंकीको जस्तै अन्डरपास बानेश्वर, कोटेश्वर र महाराजगन्जमा पनि बनाइने



काठमाडौं । सवारी आवागमनको लागि सहज हुने गरी कलंकीमा निर्माण अन्तिम चरणमा पुगेको जस्तै अन्डरपास बानेश्वर, कोटेश्वर र महाराजगन्जमा पनि बनाइने भएको छ । सडक विभाग अन्तर्गतको पुल विभागले बानेश्वर र कोटेश्वरमा दुईवटा अन्डरपास बनाउने कामको आवश्यक डिजाइन बनाइरहेको छ ।

महाराजगन्जमा भने कलंकीबाट बसुन्धाराहुँदै महराजगन्जसम्म नै चीन सरकारले नै बाटो विस्तार गर्दै छ । हाल कोटेश्वरदेखि सातदोबाटो हुँदै कलंकीसम्मका १० किमि सडक र कलंकीको अन्डरपास चीन सरकारले नै बनाइदिएको हो । अब यही सडकलाई विस्तार गरेर कलंकीबाट बालाजुहुँदै महाराजगन्जसम्मको ८ किमि सडक र एउटा अन्डरपास फेरि चीनले नै बनाइदिने भएको छ ।

सडक विस्तारसँगै पर्ने भएकोले महाराजगन्जको करिब ५ सय मिटर लामो अन्डरपास चीन सरकारले नै बनाइदिने भएको छ । चीन सरकारले महाराजगन्जमा अन्डरपास बनाइदिने भएकोले सडक विभागले सोही स्थानमा बनाउने भनेर डिजाइन गरेको अन्डरपासलाई भने अब बानेश्वर चोकमा बनाउने भएको छ ।

सडक विभाग अन्तर्गतको पुल महाशाखाले बानेश्वर र कोटेश्वरमा कलंकीको जस्तै अन्डरपास बनाउन आवश्यक गृहकार्य अगाडि बढाइसकेको छ । पुल महाशाखा प्रमुख अर्जुनजंघ थापाका अनुसार अन्डरपास डिजाइनको काम अगाडि बढेको छ । अब डिजाइन तयार भएपछि सार्वजनिक प्रस्ताव मागेर निर्माण कार्य अगाडि बढाइने छ । उनका अनुसार आगामी ३ वर्षमा अन्डरपास निर्माण गरेर सञ्चालन गर्ने गरी योजना अगाडि बढिसकेको छ ।

बानेश्वर, कोटेश्वर र महाराजगन्जमा बढेको सवारी चापका कारण उपयुक्त विकल्प नै अन्डरपास भएको औल्याउँदै निर्माण कार्य अगाडि सारिएको हो । चीन सरकारले सडकसहितको काठमाडौं रिङरोडमा २ वटा र सडक विभागले पनि २ वटा अन्डरपास बनाउने भएको छ । रिङरोडमा ४ वटा अन्डरपास भएपनि सवारी जाम कम हुने दाबी विभागको छ ।

हाल कलंकीमा निर्माण भएको करिब एक किमिको अन्डरपास बनाउन एक अर्ब रुपैयाँ खर्च अनुमान गरिएको छ । अब बन्ने बानेश्वरको डेढ किमि र कोटेश्वरको पनि सोही दूरीको हाराहारीमा हुने अन्डरपासको औषत खर्च एक एक अर्ब रुपैयाँ अनुमान गरिएको पनि पुल विभागको भनाइ छ ।

कलंकीमा निर्माणाधीन अन्डरपास सञ्चालनमा आउने अन्तिम तयारीमा पुगिसकेको छ। यो अन्डरपासको ८५ प्रतिशत निर्माण कार्य पूरा भइसकेको छ। विभागका अनुसार सडक विस्तारका लागि सुरुङ, अन्डरपास र फ्लाईओभर निर्माण प्राथमिकतामा पर्न थालेका छन्। यो मार्ग भोलिका लागि अत्यावश्यक भएकाले पनि बिस्तारै प्राथमिकतामा पर्दै अगाडि बढाउन थालिएको हो ।

प्रकाशित : १३ श्रावण २०७५, आईतवार १६:०७