प्रचण्ड र चिनियाँ उपविदेश मन्त्री वाङबीच भेटवार्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रचण्ड र चिनियाँ उपविदेश मन्त्री वाङबीच भेटवार्ता



काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा आएका चिनियाँ उपविदेश मन्त्री वाङ वाजुनबीच भेटवार्ता भएको छ ।

सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा नेपालको आर्थिक समृद्धिमा चिनियाँ सहयोगबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटमा अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टीहरुबीचको एकताले जनतामा आशा जगाएको बताउँदै जनताले पार्टीलाई चुनावमा जिताएर एकताको अनुमोदन पनि गरेको उल्लेख गरे । चीनको द्रुत आर्थिक विकास नेपालका लागि प्रेरणाको स्रोत भएको अध्यक्ष प्रचण्डले बताए ।

अध्यक्ष प्रचण्डले उपमन्त्री वाङ समक्ष नेपालको आर्थिक विकासमा चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र जनताको निरन्तर सहयोग रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका थिए । उनले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको स्पष्ट पारे ।

अध्यक्ष प्रचण्डले कनेक्टिभिटीको कुरा सबैभन्दा पहिले आफूले उठाएको र अहिले त्यो कार्यान्वयनको चरणमा रहेकाले खुसी लागेको बताए । प्रचण्डको भनाइ उद्धृत गर्दैै उनको सचिवालयले भनेको छ, ‘म प्रधानमन्त्रीका रुपमा पहिलो पटक चीन जाँदा ‘कनेक्टिभिटी’ को कुरा उठाएको थिएँ । अहिले त्यो कार्यान्वयनको प्रक्रियामा जाँदै गर्दा खुसी लागेको छ ।’

सो अवसरमा उपमन्त्री वाङले राष्ट्रपति सी जिन फिङको अध्यक्ष प्रचण्डप्रति न्यानो अभिवादन रहेको सन्देश सुनाएका थिए । उनले ठूला कम्युनिष्ट पार्टीहरुको एकताबाट नेपालमा राजनीतिक स्थायीत्व कायम भएकोमा बधाइ दिए ।

उपमन्त्री वाङलेे नेपाल र नेपाली जनताको प्रगति र समृद्धिका लागि चीन सदैव तयार रहेको बताए । बेल्ट एण्ड रोड इनिसिएटिभका लागि चौतर्फी वातावरण तयार भएको उनले जानकारी गराएका थिए ।

वाङले दुई कम्युनिस्ट पार्टीबीच एकता भएको र स्थायी सरकार बनेकोमा खुसी व्यक्त गरेका थिए । उनले नेपालले अब आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने विश्वाससमेत व्यक्त गरे ।

नेपाल-चीन सम्बन्ध थप विस्तारका लागि अहिले उपयुक्त समय भएको बताउँदै वाङले पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई चीन भ्रमणको निम्तो समेत दिए ।

प्रचण्डले उपयुक्त समय मिलाएर चीन भ्रमण गर्ने बताए । उनले आफूहरु चिनियाँ राष्ट्रपति सी जिन फिङलाई नेपालमा स्वागत गर्न आतुर रहेको जानकारी पनि गराएका थिए ।

चिनियाँ मन्त्री वाङले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला दुई देशबीच महत्वपूर्ण सहमति भएको बताउँदै त्यसलाई कार्यान्वयन गरिने बताए ।

वाङले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित : १४ श्रावण २०७५, सोमबार १४:५०