कोरियाले माघ तेस्रो हप्ताबाट नेपाली कामदार लैजाने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कोरियाले माघ तेस्रो हप्ताबाट नेपाली कामदार लैजाने



काठमाडौं । रोजगारी अनुमति प्रणाली (इपिएस) कोरिया छैटौं भाषा परीक्षामा उत्तीर्ण भएका आठ हजार ४९० जनाको व्यक्तिगत विवरणसहितको सूची दक्षिण कोरिया पठाउने क्रम आज सकिएको छ ।

Korea exam@bizmandu 3इपिएस कोरिया शाखा नेपालका निर्देशक डिल्लीराम बाँस्तोलाका अनुसार भाषा परीक्षामा उत्तीर्ण भई स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदन सकारात्मक भएका उम्मेदवारको प्राथमिक सूची कोरिया पठाउने कार्य आज सकिएको हो ।

सूचीमा रहेका आवेदकमध्ये मानव संसाधन विभाग कोरियाले जाँचबुझ गरी दुई हप्ताभित्र स्वीकृत भएकाको विवरण नेपाललाई पठाउनेछ । सूचीमा रहेकाको रोस्टर तयार पारी नेपालले कोरिया पठाएपछि रोजगारदाताले सोही सूचीबाट आफूलाई उपयुक्त लागेको व्यक्ति छनोट गर्नेछ ।

रोजगारदाताले व्यक्ति छनोट गरी श्रम सम्झौतामा दस्तखत गरी नेपाल पठाएपछि यहाँ रहेको आवेदकले पनि सो सम्झौतामा हस्ताक्षर गरेपछि प्रवेशाज्ञा लगायतको प्रक्रिया पूरा गरी रोजगारीका लागि कोरिया जान पाउने व्यवस्था छ ।

यस वर्षको भाषा परीक्षामा उत्तीर्ण भएकाहरुले सूचीअनुसार माघको तेस्रो हप्ताबाट कोरिया जान पाउने बाँस्तोलाले जानकारी दिए । ‘भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये दुई वर्षभित्र जस–जसको माग आउँछ, उनीहरु जान पाउँछन्, माग नआएकाहरु अवधि सकिएपछि कोरिया जान पाउँदैनन्,’ उनले भने ।

सन् २००८ बाट इपिएसमार्फत कोरियामा नेपाली कामदार पठाउन सुरु गरिएकामा हालसम्म ३५ हजारभन्दा बढी कामदार सो प्रणालीमार्फत गइसकेका छन् ।

यो प्रणालीमार्फत जाने कामदारले चार वर्ष १० महिना काम गर्न पाउँछन् । यस वर्ष भाषा परीक्षामा उत्तीर्ण गरेकामध्ये ६० प्रतिशतभन्दा बढीले गत मङ्सिर ९ देखि १४ सम्म भएको सीप परीक्षणमा उत्कृष्ट अङ्क प्राप्त गरेका छन् ।

कोरियाले इपिएस प्रणालीबाट १६ देशबाट कामदार लगिरहेकामा ती देशमध्ये सीप परीक्षणमा सबैभन्दा बढी प्रतिशत उत्कृष्ट अङ्क ल्याउने नेपालका कामदार बनेका छन् ।

अब कोरिया जाने फारम अनलाइनबाटै
इपिएस कोरिया शाखाले आगामी वर्षको भाषा परीक्षाको आवेदन अनलाइनमार्फत भर्ने व्यवस्थाका लागि तयारी गरेको छ ।

शाखाका निर्देशक बाँस्तोलाले सो सम्बन्धी प्रस्ताव श्रम तथा रोजगार मन्त्रालयमा पठाई सकिएको जानकारी दिँदै मन्त्रालयबाट स्वीकृत हुने बित्तिकै सफ्टवेयर निर्माणका लागि बोलपत्र आह्वान प्रक्रिया सुरु गरिने बताए ।

भाषा परीक्षाको फारम भर्दा सधैँ लामो लाइन हुने, सुरक्षा व्यवस्था गर्न कठिनाइ हुनेजस्ता समस्या देखिएकाले अनलाइन फारम भर्ने व्यवस्था गर्न लागिएको हो । अहिले काठमाडौँ उपत्यका र उपत्यकाबाहिरका पाँच स्थानबाट आवेदक आफैँ उपस्थित भएर फारम भर्नुपर्ने अवस्था छ । नयाँ व्यवस्था लागू भए आवेदकले साइबर वा आफ्नै घरबाट अनलाइनमार्फत फारम भर्न सक्नेछन् ।

प्रकाशित : ९ पुष २०७२, बिहीबार १३:१६