जलविद्युत् कम्पनीको साधारण सेयर पुस २५ भित्र बाँडफाँट हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जलविद्युत् कम्पनीको साधारण सेयर पुस २५ भित्र बाँडफाँट हुने



money2-390x293काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनीको साधारण सेयर पुस २५ भित्र बाँडफाँट हुने भएको छ । छिटोमा पुस २२ र ढिलोमा २५ सम्ममा बाँडफाँट गरिसक्ने बिक्री प्रबन्धक नागरिक लगानी कोषले जानकारी दिएको छ । जलविद्युत् लगानी तथा विकास कम्पनीले नेपाली पुँजी बजारको इतिहासमै अहिलसम्मको ठूलो साधारण सेयर निष्कासन गरेको हो ।

यो कम्पनीले दुई अर्ब रुपैयाँको दुई करोड कित्ता सेयर निष्कासन गरेकाले धेरैको चासो रहेको छ । बिक्री प्रबन्धकका अनुसार तीन लाख तीन हजार जनाले यो सेयरमा आवेदन दिएका छन् ।

कम्पनीको सेयरमा साना लगानीकर्तालाई औसतमा ५.५ प्रतिशत सेयर पर्ने अनुमान छ । करोडौं रुपैयाँ लगानी गर्नेले औसतमा दुईदेखि तीन प्रतिशत हाराहारीमा सेयर पाउने बिक्री प्रबन्धकको भनाइ छ ।

५० हजार रुपैयाँसम्म लगानी गर्ने साना र त्यसभन्दा बढीको सेयर भर्नेलाई ठूला लगानीकर्ता मानिन्छ । कुल निष्कासन भएको सेयरको ६० प्रतिशत साना र ४० प्रतिशत ठूला लगानीकर्तालाई दिनुपर्ने प्रावधान छ ।

नागरिक लगानी कोषका प्रवक्ता सुशील अर्यालले जलविद्युत् विकास कम्पनीको सेयर पुस २५ भित्र बाँडफाँट भइसक्ने जानकारी दिए। ‘छिटोमा पुस २२ र ढिलोमा २५ गतेभन्दा उता जाँदैन’, उनले भने ।

माघ १ वा २ गतेदेखि सेयर नपरेको रकम फिर्ता दिन सुरू हुने उनले जानकारी दिए। पैसा बैंक खाताबाटै फिर्ता गर्ने भनिए पनि सबै आवेदकलाई यो सम्भव नहुने कोषका अधिकारीले बताए। ’केही लगानीकर्तालाई ट्रायलका रूपमा बैंक खातामा रकम जम्मा गरिने भए पनि सबैलाई सम्भव होलाजस्तो देखिएको छैन’, उनले भने ।

सम्बद्ध अधिकारीका अनुसार एउटै खाता नम्बर राखेर धेरैले सेयर आवेदन दिएकाले पनि सबैको रकम बैंक खातामा पठाउन अप्ठेरो भएको हो।आवेदन संख्याका आधारमा यो कम्पनीले सेयर निष्कासन खुला भएको ७० दिनभित्र बाँडफाँट गरिसक्नुपर्छ ।

कम्पनीले कात्तिक १२ देखि १८ गतेसम्म सेयर बिक्री खुला गरेको थियो। यो कम्पनीमा ४३ अर्ब रुपैयाँको सेयर आवेदन परेको छ । दुई अर्बको आवेदन माग भएकामा साँढे २२ गुणा बढी आवेदन परेको हो ।

बैंकलगायतका कतिपय ठूला कम्पनीले करोडौं रुपैयाँ लगानी गरेका बिक्री प्रबन्धक नागरिक लगानी कोषले जानकारी दिएको छ। एउटै बैंकले ५० करोड रुपैयाँसम्म लगानी गरेका छन् ।

कम्पनीले न्यूनतम ५० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था गरेको थियो । बैंकमा अधिक तरलताका कारण संस्थाले यो कम्पनीको सेयरमा लगानी गरेका हुन् ।

हाल चुक्ता पुँजी आठ अर्ब रहेको यो कम्पनीको साधारण सेयर निष्कासनपछि पुँजी १० अर्ब पुगेको खबर आजको अन्नपूर्ण दैनिकमा रहेको छ । जलविद्युत् विकास कम्पनीले हाइड्रोपावर कम्पनीमा ऋण प्रवाह गर्छ ।

हाल यस कम्पनीले २३ देखि ४२ मेगावाटसम्मका विभिन्न ६ वटा कम्पनीमा लगानी गरिरहेको छ। गत आर्थिक वर्षमा ४३ करोड ३४ लाख रुपैयाँ कमाएको यस कम्पनीले चालू आर्थिक वर्षमा ५६ करोडभन्दा बढी कमाउने प्रक्षेपण गरेको छ ।

प्रकाशित : १० पुष २०७२, शुक्रबार ०७:३४