दीर्घकालीन रूपमा पेट्रोलियम व्यापार गर्न चीन र नेपाल सहमत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

दीर्घकालीन रूपमा पेट्रोलियम व्यापार गर्न चीन र नेपाल सहमत



काठमाडौं । नेपाल अब चीनबाट दीर्घकालिन रुपमै इन्धन ल्याउने भएको छ । दीर्घकालिन रुपमै इन्धन ल्याउने विषयमा नेपाल र चीन दवै पक्ष सहमत भएका छन् ।

पेट्रोल र ग्यासको व्यापारका लागि अध्ययन गर्न सुझाब

चीनले पेट्रोल र ग्यासको व्यापारका लागि लागि शुल्क यातायात तथा अन्य प्रविधिबारे विस्तृतमा अध्ययन गर्न नेपाललाई सुझाब दिएको छ । नेपालबाट सोबारे अध्ययन गर्न आयल नियमका दुई अधिकारी शुक्रबारै बेइजिङ आइपुगेका छन् । त्यस्तै, चीनले उपहारस्वरूप नेपालको उत्तरी क्षेत्रलाई थप इन्धन उपलब्ध गराउने भएको छ । चीन र नेपालको उच्चस्तरीय तहमा पेट्रोल र ग्यासमा दीर्घकालीन व्यापार गर्ने सहमतिसँगै चीनबाट इन्धन भित्रिने पक्का भएको छ ।

भारत र चीनबीच नेपाल हुनु फाइदामूलक

उनले भारत र चीनको बीचमा रहेको नेपालको भौगोलिक अवस्थितिको बेफाइदाभन्दा फाइदा बढी भएको पनि बताए । ‘यी दुवै देशको बीचमा हुनु नेपालको फाइदाको विषय हो,’ उनले भने, ‘६० वर्ष पुगेको छ, अब हामीले हाम्रो सम्बन्धलाई अझ मजबुत बनाउने प्रयास गर्नुपर्छ ।’ नेपालमा चीन र भारतको प्रतिस्पर्धा भइरहेको भन्ने प्रश्नमा विदेशमन्त्री वाङले चीन र भारत आपसी हितका लागि दुवै देशले सहकार्य गरिरहेको बताए ।

तीन देशबीच ‘विन–विन’को अवस्था हुने गरी सहकार्य

चिनियाँ विदेशमन्त्री वाङले नेपाल भारत र चीन हिमाल र नदीले जोडिएका र प्राकृतिक रूपमै विकासको साझा साझेदार भएको उल्लेख गर्दै तीन देशले ‘विन–विन’को अवस्था हुने गरी सहकार्य गर्नुपर्ने बताए । ‘चीनले सधैँ आकार जे भए पनि देश बराबर हुने विषयमा एड्भोकेसी गर्दै आएको छ । अर्काे मुलुकलाई सधैँ बराबरको व्यवहार गर्छ । यसमा भारतको पनि त्यही नीति र प्राक्टिस रहँदै आएको हाम्रो विश्वास छ,’ उनले अगाडि भनेका छन् ।

नेपालका प्रधानमन्त्रीलाई चीन भ्रमणको निमन्त्रणा

चीनले प्रधानमन्त्री केपी ओलीलाई आफ्नो देशको भ्रमण गर्न निमन्त्रणा दिएको छ । अर्को वर्ष उपयुक्त समय मिलाएर बेइजिङ आउन नेपालका प्रधानमन्त्री ओलीलाई चीनले निम्ता दिएको हो ।

चीन सुख–दुस्खको साथी

पत्रकार सम्मेलनमा थापाले चीनले सधैँ असल मित्रका रूपमा नेपालको सुख–दुस्खमा साथ दिँदै आएको बताएका थिए । भूकम्पको समयमा चीनले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए । त्यसअघि, उपप्रधानमन्त्री थापा र वाङबीचको भेटमा भूकम्पपछिको पुनर्निर्माणलाई दु्रुत गतिमा अगाडि बढाउन सहमति भएको थियो ।

चिनियाँ पर्यटकलाई नेपाल नजान जारी नोटिस फिर्ता

चिनियाँ पर्यटकलाई नेपाल नजान जारी गरेको नोटिस चीन सरकारले शुक्रबारबाटै फिर्ता लिएको छ । नेपालले पनि चिनियाँ पर्यटकलाई प्रोत्साहन गर्न भिसा शुल्क मिनाहा गरी फ्री भिसा जारी गर्ने घोषणा गरेको छ । साथै, नेपाली टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट चिनियाँ राष्ट्रपति सी जिनपिङलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित : ११ पुष २०७२, शनिबार ११:३४