पत्रपत्रिका वर्गीकरणको नतिजा सच्याउन माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

पत्रपत्रिका वर्गीकरणको नतिजा सच्याउन माग



काठमाडौं / पत्रपत्रिकाको वर्गीकरणमा प्रेस काउन्सिल नेपाल पूर्वाग्रही भएको भन्दै नेपाल प्रेस युनियन काठमाडौं शाखाले आन्दोलनको चेतावनी दिएको छ। बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई ज्ञापन पत्र बुझाउँदै प्रेस युनियन काठमाडौं शाखाले वर्गीकरणको नतिजा सच्याउन माग गरेको हो।

शाखा अध्यक्ष नकुल अर्यालसहितको टोलीले प्रजिअमार्फत सञ्चार मन्त्रालयलाई ज्ञापनपत्र बुझाइएको र माग सुनुवाई नभए कडा आन्दोलन गर्ने चेतावनी दिए। प्रेस काउन्सिलको संपरीक्षण समितिको सिफारिस लत्याएर सरकार समर्थित पत्रपत्रिकाहरूलाई मात्रै उच्च वर्गीकरणमा पारिएको युनियनको आरोप छ। ‘ पत्रपत्रिका वर्गीकरणका दौरान दशकौंदेखि निरन्तर प्रकाशित मूलधारकै पत्रपत्रिकालाई पनि वेवास्ता गरि आचारसंहिता उल्लंघनमा ख्याति कमाएका पत्रपत्रिकाले उच्च ग्रेड पाउनुले प्रेस काउन्सिलको निष्पक्ष भूमिमाथि प्रश्न उठेको छ’, युनियनको ज्ञापन पत्रमा भनिएको छ।

‘सत्ताको घोडा’ बन्न तयार नरहेका व्यवसायिक पत्रिकाहरूलाई विभेदपूर्ण व्यवहार गरिएका कारण ज्ञापन पत्र बुझाइएको अध्यक्ष अर्यालले जानकारी दिए। सरकार निरन्तर प्रेसप्रति आक्रामक बनेको र सत्ताको गुनगान गाउने पत्रकारितालाई मात्रै प्रवर्द्धन गरिएको भन्दै अध्यक्ष अर्यालले प्रेस युनियन कडा प्रतिवादमा उत्रने बताए। प्रेस युनियन, काठमाडौं सचिव महेश गौतमले विभेदकारी वर्गीकरणको तत्काल पुनरावलोकन नगरे चरणबद्ध आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरिने चेतावनी दिए। ज्ञापनपत्र बुझाउन उपाध्यक्ष देवी सापकोटा, पत्रकारहरू ज्ञानप्रसाद बाँस्तोला, डिल्ली सापकोटालगायत जिल्ला प्रशासन कार्यालय पुगेका थिए। नेपाल प्रेस युनियनका देशैभरका जिल्ला शाखाहरूले पनि बिहीबार प्रजिअमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित : ३१ श्रावण २०७५, बिहीबार १७:१२