नाकाबन्दी गर्नु द्विपक्षीय व्यापार सन्धी विपरितः महत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नाकाबन्दी गर्नु द्विपक्षीय व्यापार सन्धी विपरितः महत



Ramsharan-Mahatभारतले नाकाबन्दी गरेको छैनः राजदूत रे

काठमाडौँ। पूर्व अर्थमन्त्रीहरुले नेपालको आन्तरिक समस्यालाई कारण देखाएर नाकाबन्दी गर्नु द्विपक्षीय व्यापार सन्धीको विरुद्धमा रहेको भन्दै तत्काल नाकाबन्दी हटाउन भारत सरकारसँग आग्रह गरेका छन् । एआईडीआईएले मंगलवार काठमाडाँैमा आयोजना गरेको अन्तक्र्रियामा पूर्वअर्थमन्त्री डा. रामशरण महत मधेशवादी दलहरुको आन्दोलनलाई कारण देखाएर भारतले नाकाबन्दीलाई निरन्तरता दिनु दुई देशको हित विपरित रहेको बताए । उनले मधेश आन्दोलन नेपालको आन्तरिक समस्या भएको र आन्दोलन सम्बोधनका लागि दलहरु छलफलमा व्यस्त रहेको भन्दै आन्दोलनलाई देखाएर नाकाबन्दीलाई निरन्तरता नदिन आग्रह गरेका छन् । कार्यक्रममा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीले भारतले नाकाबन्दी लगाएको होइन भने पनि सबैभन्दा ठूलो वीरगञ्ज भन्सार नाका तीन महिनादेखि ठप्प हुनु तथा अन्य नाकाबाट पनि सबै किसिमका सामान सहजरुपमा नआउनुले आफूहरु नाकाबन्दी नै लगाइएको भन्न वाध्य भएको बताए । उनले भारतले दशगजा क्षेत्रमा नेपालका आन्दोलनकारीलाई धर्ना बस्न दिन नहुने समेत उल्लेख गरे । कार्यक्रममा भारतीय राजदूत रञ्जित रेले भने भारतले नेपालमा नाकाबन्दी नै नलगाएको दाबी गरे ।उनले आन्दोलनकारी धर्ना नबसेका नाकाबाट मालवाहक ट्रक र इन्धनका ट्यांकर निर्वाधरुपमा भित्रिरहेको भन्दै भारतलाई दोष दिनभन्दा आन्तरिक समस्या मिलाउनका लागि ध्यान दिन पूर्वअर्थमन्त्रीद्वयलाई आग्रह गरेका थिए। आन्दोलन सम्बोधन गर्ने सम्बन्धमा सरकारको पछिल्लो निर्णय निकै सकारात्मक रहेको भन्दै उनले केही दिनभित्रै आन्दोलनकारी र प्रमुख दलहरुबीच सहमति हुनेमा आफू आशावादी रहेको बताए। भारतीय राजदूत रेले भारत जहिले पनि नेपालमा शान्ति, स्थिरता र समृद्धि होस् भन्ने पक्षमा रहेको भन्दै दुई देशको सम्बन्धलाई कसरी अगाडि बढाउने सम्बन्धमा राजनीतिक तहमा छलफलको आवश्यकता रहेको बताए ।

प्रकाशित : १५ पुष २०७२, बुधबार ०३:०२