वीमाले उचालेको नेप्से वीमाले नै ओराल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

वीमाले उचालेको नेप्से वीमाले नै ओराल्यो



नेपाल स्टक एक्सचेन्जमा मंगलबार पनि वीमा कम्पनीहरुको शेयरमा उतार चढाव देखा पर्दा समग्र बजार ओरालो लागेको छ । पूँजी बृद्धिको हल्लामा बीमा कम्पनीहरुको शेयर मूल्य लगातार बढेको बजार पछिल्लो दुईदिनमा भने घटेको छ । मंगलबार प्राविधिक समस्याले नेप्सेको वेबसाइट नचल्दा लगानीकर्ताहरुले मार्केट डेप्थ लगायतका सूचनाबाट बञ्चित हुन पुगे ।

मंगलबार नेप्से ७.८५ अंकले घटेर ११४६ अंकमा पुगेको छ । होटल र जलविद्युत बाहेक सबै समूहमा आएको गिरावटले नेप्से झरेको हो । यसदिन बीमा समूहको परिसूचक १७२.८४ अंकले ओरालो लागेको छ ।

दिनभर १२८ कम्पनीको कारोबार भएको बजारमा ४१ करोड ४२ लाख बराबरको कारोाबार भएको छ ।अधिल्लो दिनको तुलनामा मंगलबार कारोबार रकम झण्डै नौ करोड रुपैयाँले घटेको छ ।

यसदिनको कारोबारमा इनोभेटिभ डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यो कम्पनीको शेयरमूल्य दश प्रतिशतले बढेको छ । त्यसपछि महिला सहयात्रा र शुभेच्छा विकास बैंक धेरै कमाउने परेका छन् ।

नेपाल इन्स्योरेन्स मंगलबार सबैभन्दा धेरै गुमाउने कम्पनीमा परेको छ । यो कम्पनीको शेयरमूल्य करिब आठ प्रतिशतले घटेको छ । यसपछि जानकी फाइनान्स, लुम्बिनी इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स लगायतका कम्पनी परेका छन् ।

धेरै गुमाउने कम्पनीको सूचीमा आधादर्जन वीमा कम्पनी देखापरेका छन् ।
अघिल्लो दिन मात्र २५ प्रतिशत बोनस सेयरसहित २६ प्रतिशत लाभांश घोषणा गरेको लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको सेयरमूल्य पाँच प्रतिशत भन्दा धेरैले घटेको छ ।

मंगलबारको कारोबारमा एनआईसी एशियाको सबैभन्दा धेरै ४ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसपछि धेरै कारोबार गर्ने नेशनल लाइफ इन्स्योरेन्सले पनि २ करोड बढिको कारोबार गरेको छ । अन्य चार वीमा कम्पनीले पनि करोड बढिको कारोबार गरेका छन् । यसदिन पनि धेरै कारोबार गर्ने कम्पनीमा वीमा कम्पनीहरुनै अगाडि देखिएका छन् ।

शेयर संख्या हिसाबले भने नेशनल हाइड्रो अग्रपंंितमा रहेको छ । यो कम्पनीको ५० हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

नेप्सेको वेबसाईटमा समस्या हुँदा लगानीकर्ता मर्कामा

मंगलबार नेप्सेको वेवसाइट लगभग कारोबार अवधिभर नै अपडेट हुन नसक्दा लगानीकर्ता भने आवश्यक सूचनालिन बाट बञ्चित भएका थिए । नेप्सेले अघिल्लो साताबाट मात्र मार्केट डेप्थ हेर्न सकिने सुविधा थपेको थियो । कारोबार अवधिभर नै सोमबारको तथ्यांक देखिएको नेप्सेको वेबसाईट बजार बन्द हुनु भन्दा केहिक्षण अघि मात्र सुचारु भएको थियो । नेप्सेको वेवसाइट तथा एप हेर्ने लगानीकर्ताले कारोबार बन्द भइसकेपछि मात्रै मंगलबारको विवरण पाएका थिए । नेप्सेले अप्टिकल फाइबरमा देखिएको प्राविधिक समस्या कारणले वेबसाईट संचालन नभएको जनाएको थियो । समस्या समाधान भएपछि मात्र वेबसाईट संचालनमा आएको नेप्सेको भनाई छ ।

प्रकाशित : २१ पुष २०७२, मंगलवार १२:५५