कृषि पेसालाई मर्यादित बनाउनुपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

कृषि पेसालाई मर्यादित बनाउनुपर्ने



ललितपुर। कृषि विकासमन्त्री हरिबोल गजुरेलले कृषि पेसालाई मर्यादित बनाउनुपर्ने बताएका छन् । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घको आठौँ वार्षिक साधारणसभालाई  सम्बोधन गर्दै उनले देश विकासका लागि कृषि क्षेत्रमा आवश्यक लगानी गरिनुपर्नेमा जोड दिए । कृषि पेसालाई सम्मान गरेर यसैको माध्यमबाट जीविकोपार्जन गर्न सकिनेमा उनले विश्वास व्यक्त गरे ।

कृषिलाई परम्परागत रुपमा नभई आधुनिकीकरणबाट यसको उपयोग गरेर देशलाई आत्मनिर्भर बनाउन सकिने उनको भनाइ रहेको छ । कृषकलाई उन्नत जातको बीउ वितरण गर्ने, आधुनिक औजार दिने, तालिमलगायत उपलब्ध बनाएर देशको अर्थतन्त्रलाई अग्रगतिमा लैजान सकिनेमा उनको जोड रहेको छ ।

नेपालको संविधानमा समाजवादउन्मुख अर्थतन्त्र राखिएकाले यसको कार्यान्वयनका लागि कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्ने मन्त्री गजुरेलले बताए । राज्यले लिएको तीनखम्बे अर्थनीतिअनुरुप कृषि क्षेत्रले आर्थिक पक्ष सवल बनाउन महत्वपूर्ण भूमिका खेल्न सकिनेमा उनको विश्वास थियो ।

सांसद पशुपति चौलागाईंले कृषि क्षेत्रबाट उत्पादन हुने खाद्यान्नबाट देश आत्मनिर्भर बन्न सकिने बताए। यस क्षेत्रबाट उत्पादित वस्तु निर्यात गर्न सकेमा देशको अर्थतन्त्र मजबुत हुन सक्ने उनको भनाइ थियो । सो अवसरमा कृषि क्षेत्रमा लागेका तीन युवालाई नगद रु पाँच हजारका दरले पुरस्कार वितरण गरिएको थियो । पुरस्कार पाउनेहरुमा रञ्जु बोम्जन, श्यामकुमार शाह र महेश चौलागाईं रहेका छन् ।

सङ्घअन्तर्गत ६८ जिल्लाबाट ७१५ सदस्य आबद्ध रहेका छन् । देशभरिमा एक हजार १५ वटा गाविसमा सेवा पु¥याइरहेको र यसबाट करिब रु ४५ लाख जनसङ्ख्या प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाभान्वित भएको बताइएको छ ।

प्रकाशित : २३ पुष २०७२, बिहीबार १२:३६