‘बागमती’ का सकारात्मक र नकारात्मक पक्ष « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

‘बागमती’ का सकारात्मक र नकारात्मक पक्ष



bagmatiराजेश हमालको कमब्याक भनेर प्रचार गरिएको फिल्म ‘बागमती’ गत शुक्रबार रिलिज भयो । बक्स अफिसमा मध्यम बिजनेश गरिरहेको यो फिल्म अहिले काठमाडौं सहित देशभरका ७० बराबर पर्दामा प्रदर्शन भईरहेको छ । राजधानीका केहि मल्टिप्लेक्सहरुमा पनि यो फिल्म हेर्न दर्शक पुगेकै छन् । यो कुराको पुष्टी फिल्म हलमा रहनु नै हो । किनकी प्रायः नेपाली फिल्मलाई शुक्रबार, शनिबार मात्र शो दिने हल सञ्चालकहरु माझ यो  फिल्म भने टिकिरहन सफल छ ।

यो बीचमा मिडियाहरुमा पनि ‘बागमती’लाई लिएर विभिन्न प्रकारका समिक्षाहरु समेत आईरहेका छन् । यहाँ हामी फिल्मका राम्रा र नराम्रा केहि पक्षहरुलाई उल्लेख गर्ने प्रयास गरेका छौं ।

सवल पक्षः

तपाई राजेश हमाल र शिव श्रेष्ठको फ्यान हुनुन्छ भने र लामो समयदेखी उनीहरुको फाईट पर्दामा देख्न पाउनुभएको छैन् भने ‘बागमती’ हेर्नुस् एक्शन किङ शिव श्रेष्ठ र महानायक हमालको दमदार फाईट पर्दामा देख्न पाईन्छ ।

बलिउडमा सलमान खान र शाहरुख खान बुढा हुँदैनन् भने नेपाली स्टार पनि कहाँ बुढा हुन्छन् र, पर्दामा ५० को दशक पार गरिसकेका हमाल र शिव पनि तन्नेरी देखिन्छन् । साउथ ईण्डियन निर्देशकले अन्य नेपाली फिल्ममा समेटिने भन्दा पृथक किसिमको द्वन्द्वात्मक दृश्य यो फिल्ममा पस्केका छन् ।

फिल्मको सिनेमाटोग्राफी तारिफयोग्य छ । ड्रोनबाट खिचिएका केहि दृश्यहरु तथा अन्य दृश्यहरु पनि मनमोहक लाग्छन् । दक्षिण भारतिय प्राविधिकहरुले गरेको ‘बागमती’को प्राविधिक पक्ष पनि तारिफयोग्य नै छ । मेकिङको कुरा गर्ने हो भने, नेपाली मेकरहरुले सिक्नुपर्नेकुरा हरु फिल्ममा राम्रै छन् ।

व्याकग्राउण्ड साउण्ड उच्च छ । अन्तर्राष्ट्रिय स्तरका हलिउड बलिउड फिल्ममा जत्तिकै साउण्ड ‘बागमती’मा अनुभव गर्न सकिन्छ । भिएफएक्स तथा एनिमेशनमा पनि तारिफ गर्ने ठाउँ छ ।

कलाकारको रुपमा हेर्दा आम नेपाली फिल्ममा देखिने महानायक राजेश हमाललाई पृथक किसिकले प्रस्तुत गरिएको छ । उनका डायलग डेलिभरी अन्य फिल्मका भन्दा फरक छन् । अभिनय कला पनि केहि पृथक देखिन्छ ।  त्यस्तै पछिल्लो समय खलनायकको रुपमा देखिएका ध्रुब कोईरालाको भुमिका खास देखिन्छ । भने रविकर घिमिरे र बाल कलाकार कञ्चन ठकुरीको अभिनयकलाले ठाउँ ठाउँमा दर्शकको मन छुन्छ ।

कमजोर पक्षः

फिल्म हेर्ने दर्शकले फिल्म अपुरा भएको गुनासो गरे । निर्देशक केरालाले ‘बागमती २’ बनाउने भनेर केहि सस्पेन्स यतीकै छाडेर सकाएका छन् । त्यस्तै केही लामो र पट्यार लाग्ने दृश्यहरु पनि फिल्ममा समावेश छन् । पात्रलाई न्याय गर्न निर्देशक चुकेका छन् ।

निर्देशकले फिल्मको ‘सेन्ट्रल लाईन’ के हो त्यो दर्शकलाई बुझाउन सकेका छैनन् ।

गाडीमा घुमेको घुमेई गर्ने पात्र अन्त्यमा अस्पताल पुगेसी सकिने फिल्म हेर्दा दर्शकलाई नमज्जा लाग्नसक्छ । खासगरी राजेश र शिव पात्र को हुन्, के को लागी फाईट गर्दैछन् नै दर्शकलाई कनफ्युज हुनसक्छ ।

प्रकाशित : २८ पुष २०७२, मंगलवार ०४:२४