पूँजी बजारमा एनआरएनको लगानी भित्र्याउनुपर्छ : अर्थमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पूँजी बजारमा एनआरएनको लगानी भित्र्याउनुपर्छ : अर्थमन्त्री



bishnuकाठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले धितोपत्र बजारको विकास र विस्तारका लागि सरकार आवश्यक सम्पूर्ण सहयोग गर्न प्रतिबद्ध रहेको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई आफ्ना गतिविधिहरुको वस्तुगत समीक्षा गरी अगाडि बढ्न निर्देशन दिएका छन् ।

नेप्सेको बुधबार सम्पन्न २३औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले सरकार पूँजी बजारको विकासमा प्रतिबद्ध रहेको बताएका हुन् । पूँजी बजारमा गैरआवासीय नेपालीको लगानी पनि भित्र्याउनुपर्छ भन्दै उनले यसका लागि पहल भैरहेको पनि उल्लेख गरे ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले पूँजी बजारको भौगोलिक विस्तार, वास्तविक क्षेत्रका कम्पनीको प्रवेश, पूर्णस्वचालित पूँजी बजार तथा वित्तीय औजारहरुको विविधिकरणमा जोड दिए ।

नेप्सेका अध्यक्ष रामजी रेग्मीले नेप्सेलाई निजीकरण गर्ने, यसमा रणनीतिक साझेदार भित्र्याउनेलगायतका विकल्पमा छलफल चलाइनु आवश्यक भइसकेको धारणा राखे ।

कार्यक्रममा नेप्सेका प्रमुख कार्यकारी अधिकृत सीताराम थपलियाले पूँजी बजारको वर्तमान अवस्था र पूँजी बजारले सामना गरिरहेका चुनौतीहरुकाबारे जानकारी गराएका थिए ।

नेप्सेले यो आर्थिक वर्षभित्र लगानीकर्ताको पहुँच ७५ जिल्लामा पुर्‍याउने दाबी उनले गरे ।

सूचना–प्रविधि, निक्षेप सदस्य, दलाल व्यवसायीहरुमार्फत् देशका सम्पूर्ण भागमा सेवा पुर्‍याइने उनले उल्लेख गरेका हुन् ।

कार्यक्रममा सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले अहिलेसम्म ३० करोड कित्ता शेयर बढीको अभौतिकरण भैसकेको भन्दै हाल प्रतिमिनेट ३ हजार ७ सय कित्ताका दरले धितोपत्र अभौतिकीकरण कार्य भइरहेको जानकारी गराए ।

हाल ४४ जिल्लाका ६६ स्थानहरुबाट निक्षेप सेवा उपलब्ध रहेको उनले बताए ।

माघ १ देखि पूर्णरुपमा शेयरको अभौतिक कारोबार मात्र हुनेछ र यसका लागि आफूहरु त्यार रहेको सरोकारवालाहरुले बताएका छन् ।

प्रकाशित : २९ पुष २०७२, बुधबार १६:११