औद्योगिक करिडोरमा एकअर्ब ४४ करोड घाटा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

औद्योगिक करिडोरमा एकअर्ब ४४ करोड घाटा



मोरङ । वैशाख १२ गतेदेखि अहिलेसम्म विभिन्न चरणमा भूकम्पका कारण मोरङ, सुनसरी औद्योगिक करिडोर क्षेत्रले रु एक अर्ब ४४ करोड घाटा बेहोर्नु परेको उद्योग सङ्गठन मोरङले जनाएको छ ।

उद्योग सङ्गठन मोरङका कार्यालय सचिव सोम अधिकारीका अनुसार मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योग पूर्णरुपमा सञ्चालन हुन नसकेका कारण भूकम्प गएको अठाराँै दिनसम्ममा दैनिक रु आठ करोडका दरले करिडोर क्षेत्रले रु एक अर्ब ४४ करोड घाटा बेहोर्नु परेको छ । राजधानीसहित भूकम्प प्रभावित जिल्लाबाट तयारी वस्तुको माग नआएको र मजदुर नफर्किएका कारण उद्योग पूर्णरुपमा सञ्चालनमा आउन नसकेको उद्योग सङ्गठनको भनाई छ ।

यस्तै मोरङ व्यापार सङ्घका महासचिव प्रकाश मुन्दडाका अनुसार भूकम्पको त्रासका कारण उद्योग सञ्चालक र मजदुर अझै राम्रोसँग काम गर्नेसक्ने अवस्थामा छैनन् । भूकम्पपछि यो क्षेत्रका उद्योग तीन दिन पूर्णरूपमा बन्द भएको थियो । उद्योगी र मजदुर भूकम्पको त्रासले काम गर्ने अवस्था नरहेको महासचिव मुन्दडाको भनाई छ ।

त्यस्तै मोरङ व्यापार सङ्घका अध्यक्ष पवन सारडाका अनुसार राजधानीको जनजीवन सामान्य हुन अझै एक महिनाभन्दा बढी समय लाग्ने देखिएकाले त्यसको प्रत्यक्ष असर करिडोरका उद्योगलाई परेको छ । अधिकांश मानिसले राजधानी छाडेकाले खाद्यन्नलगायतका सामग्रीको माग घटेको छ । बजारको माग न्यून हुन थालेपछि मैदा, साबुन, बिस्कुट, तेल, चामल, छड, पेन्ट्स, सिमेन्ट उद्योग बढी मारमा परेको सारडाले बताउनुभयो ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष शिवशङ्कर अग्रवालका अनुसार दैनिक रु १५ करोड बराबरको तयारी वस्तु उत्पादन गर्ने उद्योगले यतिबेला रु पाँच करोड बराबरको सामग्रीसमेत उत्पादन गर्न सकेका छैनन् ।

मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रमा विभिन्न प्रकारका झन्डै ६०० उद्योग सञ्चालनमा छन् । त्यस्तै उद्योगमा काम गर्ने मजदुर नआउदा जुट उद्योगलाई बढी समस्या परेको नेपाल जुट उद्योग सङ्घका अध्यक्ष राजकुमार गोल्छाले बताउनुभयो । भूकम्पपछि घरगएका नेपाली र भारतीय मजदुर अझै काममा फर्किएका छैनन् । करिडोर क्षेत्रमा काम गर्ने धेरै मजदुर जिल्ला बाहिरका छन् ।

प्रकाशित : ७ जेष्ठ २०७२, बिहीबार ०५:३२