बचत तथा ऋण सहकारीहरु ऋण लगानीमा गम्भिर हुनुपर्छःपौडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बचत तथा ऋण सहकारीहरु ऋण लगानीमा गम्भिर हुनुपर्छःपौडेल



वीरगञ्ज । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलले बचत तथा ऋण सहकारीहरु ऋण लगानीमा गम्भिर हुनुपर्ने बताएका छन् ।

अाइतबार वीरगञ्जमा नेफ्स्कूनको आयोजना एवम् पर्सा जिल्ला बचत तथा ऋण सहकारी संघको संयोजनमा सञ्चालित तीन दिने ऋण व्यवस्थापन तालीमको समापन गर्दै उक्त कुरा बताएका हुन् । सहकारीहरुको व्यवसाय र जोखिम ऋणमा नै आधारित रहेकोले सुरक्षित र उत्पादनमूलक परियोजनामा लगानी गर्न सहकारीहरु गम्भिर हुनुपर्ने पौडेलको भनाई थियो ।

सहकारीहरुको कतिपय लगानी अनुत्पादक क्षेत्रमा रहेको र सुरक्षित एवम् प्रतिफलमुखी लगानीमा नदेखिएको कारण समस्याहरु आएको पौडेलले बताए । मधेश आन्दोलनले समग्र अर्थतन्त्रसंगै सहकारी क्षेत्रमा पनि समस्याहरु देखा परिरहेको बताउदै तत्काल यसको उचित निकासको पक्षमा गम्भिर हुन पौडेलले आग्रह गरे ।

त्यस्तै पर्सा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पण्डितले जिल्लाको बचत तथा ऋण सहकारीहरुलाई सुशासित र गुणस्तरयुक्त बनाउन आफुहरु अग्रसर रहेको बताए ।

डिभिजन सहकारी कार्यालय पर्साका निमित्त प्रमुख अरुण बस्नेतले सहकारीहरुको नियमन र अनुगमनमा सरकारी प्रयास प्रभावकारी हुन नसकेकोले अभियानलाई सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा नेफ्स्कूनका तालीम अधिकृत नवकुमार अधिकारी, जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष असगर अली, सचिव पन्नालाल महतो र सञ्चारकर्मी रामनिवास देहातीलगायतले आफ्नो धारणा राखेका थिए । तालीममा जिल्लाका पैतीस जनाको सहभागिता रहेको थियो । सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रकाशित : ४ माघ २०७२, सोमबार ०२:१५