डलरको तुलनामा रुपियाँ न्यून विन्दुमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

डलरको तुलनामा रुपियाँ न्यून विन्दुमा



भारतको वित्त बजारबाट अमेरिकी डलर बाहिरिएका कारण भारु कमजोर हुँदा डलरको तुलनामा नेपाली रुपियाँ हालसम्मकै न्यून विन्दुमा पुगेको केन्द्रिय ब्याँकका अधिकारीहरुले बताएका छन्।

भारतले आफ्नो मुद्रा कमजोर हुँदा निर्यात बढाउने आशा राखे पनि नेपालको हकमा भने निर्यात क्षमता नै नहुँदा महंगो डलरले विदेशी सामानको भाउ तथा सरकारको खर्च बढ्ने चिन्ता अधिकारीहरुले गरेका छन्।
कारण

यस अघि २०७० सालको भदौ १९ गते कायम भएको किर्तिमानलाई समेत २१ पैसाले तोडेर विहिबार एक अमेरिकी डलर बराबर खरीद मूल्य १०८ रुपियाँ ६४ पैसा पुग्यो।

दुवै पटक डलरको भाउ बढ्नुमा कारण लगभग समान छन्।

भारतीय रुपियाँ संग स्थिर विनिमय दर कायम राखेको नेपाली रुपियाँको मूल्य भारु संगसंगै घटबढ हुने गर्छ।

यसपटक भारतीय रुपियाँ चाहीं किन कमजोर भयो त? नेपाल राष्ट्र ब्याँकका प्रवक्ता त्रिलोचन पंगेनी भन्छन्, “भारतमा खासगरी बाह्य पक्ष कमजोर भएको त्यहाँका अर्थमन्त्रीले भनेका छन्। यसको अर्थ के हो भने भारतमा पोर्टफोलियो म्यानेजमेन्ट को रुपमा डलरको जुन आप्रवाह हुन्थ्यो, त्यो रोकिएको छ। बरु त्यहाँबाट डलर बाहिरिन थालेको छ। यसले भारु कमजोर बनाएको छ।”अढाई वर्ष अगाडी र अहिले डलरको भाउ बढ्नुमा कारण समान रहे पनि त्यसप्रति खासगरी भारतमा देखिएको प्रतिक्रिया अलि फरक छन्।

अहिले दिल्लीमा धेरै चिन्ता देखिएको छैन। त्यसको कारणबारे प्रवक्ता पंगेनी भन्छन्, “आफ्नो मुद्राको मूल्य केही बढी भएको उनीहरुको भनाई थियो। अहिलेको मुद्रा अवमूल्यनप्रति उनीहरुको चिन्ता नहुनुको कारण के हो भने आफ्नो मुद्रा कमजोर भएपछि निर्यात बढ्छ भन्ने उनीहरुमा विश्वास बढेको छ।”

चाहे भारत होस् वा नेपाल आफ्नो मुद्रा कमजोर हुँदा आफ्ना सामान विदेशी बजारमा सस्तो पर्न जाने हुँदा त्यसले निर्यात बढाउने आश रहन्छ।

तर भारतले जस्तै फाइदा नेपालले भने लिन सक्ने स्थिति नरहेको पंगेनीले बताए।

“निर्यात गर्नसक्ने क्षमता हामीसंग नभएको हुँदा नेपाली रुपियाँको अवमूल्यनले हाम्रा निम्ति विदेशी आयातित सामान महंगो हुने तथा विदेशी डलरको ऋण तिर्दा सरकारी खर्च बढ्ने अवस्था निम्तिन्छ,” उनको भनाई थियो।

तर डलर महंगो हुँदा बाहिर काम गर्ने नेपालीले विदेशी मुद्रामा रेमिटेन्स पठाउँदा देशको आम्दानी केही बढ्ने देखिन्छ।

\बिबिसी नेपाली सेवाबाट

प्रकाशित : ७ माघ २०७२, बिहीबार १५:२२