किन रोकियो डेपुटी गभर्नरको नियुक्ति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

किन रोकियो डेपुटी गभर्नरको नियुक्ति ?



Nepal-Rastra-Bank_Panorama1_20111122085657काठमाडौं । नेपाल राष्ट्र बैँक झण्डै एक महिनादेखि डेपुटी गभर्नरविहिन छ । गत पुष नौ गते डेपुटी गभर्नरद्धय गोपालप्रसाद काफ्ले र महाप्रसाद अधिकारीले अवकाश पाएका थिए । त्यसपछि, गभर्नर नियुक्ति हुन सकेको छैन । अब डेपुटी गभर्नर को बन्ने विषय सबैको चासोको विषय बन्न थालेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एउटा आफ्नो मान्छे र अर्कोका लागि प्रधानमन्त्रीलाई मनाउन गभर्नर डा. चिरञ्जिवी नेपाललाई भनेको बताइएको छ । नेपाल भने आफ्नो तर्फबाट १ डेपुटी हुनुपर्ने अडानमा छन् । जसका कारण हप्तौँ वितिसक्दा पनि राष्ट्र बैँकले डेपुटी गभर्नर पाउन सकेको छैन । हाल डेपुटी गभर्नरको लाइनमा राष्ट्र बैंकका १६ जना कार्यकारी निर्देशक छन् । अहिले राष्ट्रबैंकमा बरियताक्रमको आधारमा रहेका कार्यकारी निर्देशकमा प्रदिपराज पाण्डे, हरिप्रसाद काफ्ले, त्रिलोचन पंगेनी, डा. मिनबहादुर श्रेष्ठ, महेश भट्टराई, शिवराज श्रेष्ठ, नारायणप्रसाद पौडेल, नरबहादुर थापा,डा.विनोद आत्रेय, जनकबहादुर अधिकारी, भीष्मराज ढुंगाना, चिन्तामणी शिवाकोटी, लक्ष्मीप्रपन्न निरौला, शंकरप्रसाद आचार्य, राजनबिक्रम शाह र शिवनाथ पाण्डे छन् ।

यी मध्ये, चिन्तामणी शिवाकोटी एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीसँग निकट रहेको बताइन्छ । प्रधानमन्त्रीसँगको उनको भौगोलिक, बैचारिक र व्यक्तिगत निकटता छ । उनीहरु दुबै तेह्रथुमको आठराइबाटबाट बसाईँ सरेर तराई झरेका हुन् । शिवाकोटीको स्थायी घर पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निर्वाचन क्षेत्रमा पर्ने मोरङको अमरदह हो । शिवाकोटी ०४४ साल चैत ७ गते राष्ट्र बैंकको नोकरीमा प्रवेस गरेका हुन् । जागिरे जीबनमा आन्तरिक लिखित प्रतिस्पर्धामा हरेकपटक भिडेरै बढुबा पाएका शिवाकोटी ०७२ भदौ ११ गते कार्यकारी निर्देशकमा बढुवा भएका हुन् । डेपुटी गभर्नर नभएमा उनले ०७४ चैत ६ गते अवकाश पाउँछन् । डेपुटी गभर्नर मन्त्रिपरिषदले नियुक्ति गर्ने भएकाले अर्थमन्त्रीले प्रस्ताव गर्दा प्रधानमन्त्रीले शिवाकोटीको नाममा अडान लिनसक्ने स्रोतहरुको भनाइ छ ।

त्यस्तै, शिवनाथ पाण्डेले काम गरेरै गभर्नर डा. नेपालको मन जितेको राष्ट्र बैंकभित्र ठूलो चर्चा छ । त्यसैले, पाण्डेका नाममा गभर्नरले अडान लिनसक्ने आँकलन गरिएको छ । राष्ट्र बैंकका १६ जना कार्यकारी निर्देशकमध्ये एकमात्र चाटर्ड एकाउन्टेन्ड हुन् पाण्डे । राष्ट्र बैंकमा चाडर्ट उकाउन्टेन्टलाई डेपुटी गभर्नर बनाउँदै आएको इतिहास (जस्तै, महाप्रसाद अधिकारी, बिरबिक्रम रायमाझी, हिरण्यलाल प्रधान)ले पनि उनको सम्भावना बलियो देखिएको हो । राष्ट्र बैंकमा ०४२ साल बैशाख ३ गते नोकरी सुरु गरेका पाण्डे ०७२ भदौ ११ गते कार्यकारी निर्देशकमा बढुवा भएका हुन् । डेपुटी गभर्नर नभए उनले ०७३ साल पुस ३ गते अवकाश पाउँछन् ।

यता, कांग्रेसनिकट मानिएका पंगेनीको गभर्नर डा. नेपालसँग राम्रो निकटता छ । त्यसैले पंगेनीलाई गभर्नरले राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी सुम्पिएका छन् । गभर्नर र अर्थमन्त्री दुबैको नजिक भएकाले उनी डेपुटी गभर्नर बन्ने बलियो सम्भावना देखिन्छ । पंगेनीले ०४४ फागुन ५ गते राष्ट्र बैंकमा नोकरी सुरु गरेका थिए । ०६७ असोज ६ गते कार्यकारी निर्देशकमा बढुवा भएका पंगेनी डेपुटी गभर्नर भएनन भने ०७४ बैशाख ११ गते सेवाबाट अवकाश पाउँछन् ।

भीष्म ढुंगानालाई यसअघिका गभर्नर डा. युवराज खतिवडाले राष्ट्र बैंकभित्र निकै मन पराएका थिए । अहिलेका गभर्नर डा. नेपालले पनि उनलाई मन पराएको बताइन्छ । ढुंगानाले ०४६ जेठ २५ गते राष्ट्र बैंकमा नोकरी सुरु गरेका थिए । ०७२ भदौ ११ गते कार्यकारी निर्देशकमा बढुवा भएका ढुंगानाले ०७६ जेठ २४ गते अशकाश पाउनेछन् । ढुंगानाको पुख्र्यौली घर पनि प्रधानमन्त्री केपी ओलीको गाविस तेह्रथुमको इवा हो । महेन्द्र मोरङ ०३७ सालमा अहिलेकी राष्ट्रपति विद्या भण्डारीसँग क्याम्पस कमिटीमा सँगै काम गरेका ढुंगानालाई राष्ट्रपति भण्डारीसँग निकट मानिन्छ ।

त्यसैगरी, राजनीतिकरुमा एमालेसँग निकट निरौला निवर्तमान युवराज खतिवडाले गभर्नर हुँदा उनका विश्वासपात्रमध्येका एक हुन् । राष्ट्र बैंकभित्र कसलाई अघि बढाउने भन्नेमा प्रधानमन्त्री र अर्थमन्त्रीले अवश्य पनि खतिवडाको सुझाब लिनेछन् । यस्तो अवस्थामा खतिवडाको रोजाइमा निरौला पर्न सक्ने स्रोतहरुको दाबी छ । ०४६ माघ ८ गते राष्ट्र बैंकको नोकरी सुरु गरेका उनी ०७२ भदौ ११ गते कार्यकारी निर्देशकमा बढुवा भए । ०७६ माघ १० गते अवकास पाउँदैछन् ।

१६ जना कार्यकारी निर्देशकहरुमध्ये जनक अधिकारी अर्थमन्त्री विष्णु पौडेलका प्रियपात्र मान्छिन् । अधिकारीलाई राष्ट्र बैंकको एमाले निकट कर्मचारी संगठनका अध्यक्ष बसन्त पाण्डेको पनि विषेश सहयोग छ । एमालेवृत्तमा अत्यन्तै राम्रो पकड भएका निर्देशक बासुदेव अधिकारीले पनि अधिकारीलाई डेपुटी गभर्नर बनाउन लागि परेको स्रोतहरुको दाबी छ । एमालेवृत्तमा राम्रै पकड भएका, अर्थमन्त्रीका प्रिय मानिने भएकाले उनको सम्भावना देखिएको हो । अधिकारी ०४६ जेठ २५ गते राष्ट्र बैंकमा नोकरी सुरु गरेका थिए । ०७१ असोज १० गते कार्यकारी निर्देशमा बढुवा भएका अधिकारी ०७६ जेठ १० गते अवकास पाउँछन् ।

यसबाहेक कांग्रेसनिकट मानिएका डा. बिनोद आत्रेय, नारायण पौडेल र माओवादी निकट मानिएका एक्ला कार्यकारी निर्देशक डा. मीनबहादुर श्रेष्ठ नयाँ डेपुटी गभर्नर बन्नसक्ने चर्चा छ । आत्रेय ०४० साल माघ १ गते राष्ट्र बैंकको नोकरीमा प्रवेश गरेका हुन् । गभर्नरले चारजनाको नाममा चौथो बरियताका कार्यकारी निर्देशक डा. मीनबहादुर श्रेष्ठको नाम पनि सिफारिस गरे भने सत्ता साझेदार एमाओवादी निकट डा. मीनबहादुर श्रेष्ठको पनि डेपुटी गभर्नर बन्ने बलियो सम्भावना छ । अहिलेका एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ जनप्रशासन क्याम्पसमा स्ववियु सभापति हुँदा डा. श्रेष्ठले उनकै प्यानलबाट स्ववियु सचिव जितेका थिए ।
यद्यपि, अर्थमन्त्री तथा गभर्नर दुवैले डेपुटीमा कनिष्ठ कार्यकारी निर्देशकलाई सिफारीस गर्न खोज्दा समस्या उत्पन्न भएको सम्बद्ध स्रोतको भनाइ छ । दुवै पक्ष यही साउनका बढुबा भएका कार्यकारी निर्देशकलाई डेपुटी बनाउने कसरतमा लागेका छन् । उनीहरु बढुवा भएको ६ महिना नपुगी सिफारिस गर्न नमिल्ने भएकाले पनि ढिलाई भएको हो । गत साउनका ६ जना निर्देशक कार्यकारी निर्देशकमा बढुवा भएका थिए ।बिजनेससन्सारबाट

प्रकाशित : ७ माघ २०७२, बिहीबार १५:४२