निजी क्षेत्रको मनोबल उच्च राख्न सरकारले कुनै कसर बाँकी नराख्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

निजी क्षेत्रको मनोबल उच्च राख्न सरकारले कुनै कसर बाँकी नराख्ने



काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको मनोबल उच्च राख्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । त्यसका लागि नीतिगत एवं कानूनी संरचनामा परिमार्जन आवश्यक भए सरकार तयार रहेको उनको भनाई छ ।

नेपाल चेम्बर अफ कमर्सले ६४औं अन्तर्राष्ट्रिय भन्सार दिवसको सन्दर्भमा आइतबार काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री पौडेलले निजी क्षेत्रको मनोबल उठाउन जरुरी रहेको बताएका हुन् ।

सरकार र निजी क्षेत्रबीच हातेमालो गरेर अर्थतन्त्रलाई माथि उकास्न आवश्यक रहेको भन्दै उनले निजी क्षेत्रको हरेक समस्या समाधान गर्न साझा प्रयास गर्नुपर्नेमा पनि जोड दिए ।

भन्सारसहित अन्य प्रणालीमा कमजोरी रहेको स्वीकार्दै मन्त्री पौडेलले कमजोरी सच्याउन सबैले प्रयत्न गर्नुुपर्ने बताए । प्रणालीमा भएको त्रुटीकै कारण व्यवसायीले एउटै कारोबारको पनि तीनवटा बिल बनाउनु परेको गुनासो आएको भन्दै त्यस्तो रहे सुधार गरिनुपर्ने पनि बताए ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले एउटै बिल पेश गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताए । उनले भन्सारलाई अनलाइन प्रणालीमा लैजान सुझाव दिदै भुकम्प एवं नाकाबन्दीको समयमा भन्सार विभागले निजी क्षेत्रलाई सहजीकरण गरेको बताए ।

चेम्बरले भन्सारमा सुधार गरेको र निजी क्षेत्रलाई सहजीकरण गरेको भन्दै भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानालाई सम्मान पनि गरेको थियो ।

प्रकाशित : १० माघ २०७२, आईतवार १४:२७