नयाँ उचाईमा नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नयाँ उचाईमा नेप्से



STOCKकाठमाडौं । पुँजी बजारले सोमबार नयाँ रेकर्ड बनाएको छ । १.४२ प्रतिशत अर्थात १७.३२ अंकले बजार बढ्दा पुँजी बजारमा नयाँ रेकर्ड कायम भएको हो। सोमबार बजार १२३८.०२ विन्दूमा बन्द भएको छ। यसअघि माघ ११ गते बजारले १२१९.६२ अंकको रेकर्ड कायम गरेको थियो। नयाँ उचाईसँगै नेपालको पुँजीबजारको पुँजीकरण १३ खर्ब ३२ अर्ब ६६ करोड ४ लाख ९० हजार रुपियाँ पुगेको छ ।

करिब ७ वर्ष अगाडि २०६५ सालमा बनाएको ११७५ को रेकर्डलाई गत भदौ महिनामा तोडेपछि नेप्सेले एक पछि अर्को रेकर्ड बनाउँदै आएको छ । नेपाल राष्ट बैंकमा गभर्नर भएर डा. चिरञ्जीवी नेपाल आएपछि उनले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी ४ गुणा बढाउनुपर्ने नीतिले पुँजी बजार बढाउन धेरै सहयोग गरेको छ । मौद्रिक नीतिकै प्रभाव स्वरुप भदौ महिनामा ७ वर्ष अघिको रेकर्ड तोडेर पुँजी बजारले १२ सय विन्दुसम्म पुगेको थियो ।

लगत्तै नयाँ संविधान घोषणा पछि मधेशवादी दलको तराई बन्द एवम् भारतको नाकाबन्दीको असर स्वरुप पुँजी बजार १०५० को हाराहारीमा उर्लिए पनि बैंकमा थुप्रिएको उच्च तरलताले व्याज दर अत्यन्त न्यून विन्दुमा पुग्दा पुँजी बजार फेरि नयाँ रेकर्डका साथ अगाडि बढ्ने अवसर सिर्जना भएको हो ।

माघबाट अभौतिक सेयर मात्रै कारोबार हुन थालेपछि बजारले नयाँ गति लिएको छ। डिम्याट कारोबार सुरु भएपछि केही दिन सेयर कारोबार हुने कम्पनीको संख्यामा कमी आए पनि सोमबार एकसय १३ वटा कम्पनीको सेयर कारोबार भएको छ।
सोमबार बजारमा ५५ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ। बजारमा वाणिज्य बैंकको २३ करोड ८३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै विकास बैंकको १६ करोड ६५ लाख तथा बीमाको पाँच करोडको सेयर किनबेच भएको छ।

जलविद्युत बाहेक सबै समूहको सूचक उकालो लागेको छ। वाणिज्य बैंक समूहको सूद्वक २०.७९ अंकले, होटलको ७३.४७ अंकले, विकास बैंकको १९.५९ अंकले, बीमाको ३५ अंकले तथा अन्य समूहको २६.९३ अंकले बढेको छ।
बजारमा सानिमा बैंकको सबैभन्दा धेरै सेयर किनेबच भएको छ। सानिमाको चार करोड रुपैयाँको सेयर किनबेच भएको हो। यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर तीन करोड ७३ लाखको किनबेच भएको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको तीन करोड ५८ लाखको सेयर कारोबार भएको छ। त्यस्तै बजारमा ग्लोबल आइएमई बैंक, फर्स्ट माइक्रोफाइनान्स तथा नबिल बैंकको संस्थापक सेयर दुई करोड रुपैयाँ भन्दा धेरैको शेयर कारोबार भएको छ।
बजारमा सबैभन्दा धेरै कमाउनेमा युनियन फाइनान्स तथा त्रिवेणी विकास बैंकका लगानीकर्ता छन्। दुवै कम्पनीको सेयर १० प्रतिशतले बढेको छ। यस्तै मिर्मिरे माइक्रोफाइनान्स, वेस्टर्न डेभलपमेन्ट बैंक, अल्पपाइन डेभलपमेन्ट बैंक, रिलायबल डेभलपमेन्ट बैंक, फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, सिन्धु विकास बैंक र युनियन फाइनान्सलगायतका कम्पनीको ९ प्रतिशत भन्दा बढीले शेयर मूल्य बढेको छ । गुमाउनेमा भने एभरेष्ट बैंकको प्रिफेरेन्स सेयर, नागबेली लघुवित्त विकास बैंक, बरुण हाइडोपावर, अरुण हाइडोपावरलगायत रहेका छन् ।

प्रकाशित : १९ माघ २०७२, मंगलवार १३:०७