पुनर्निर्माणमा युरोपेली संघ र साउदीले सघाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पुनर्निर्माणमा युरोपेली संघ र साउदीले सघाउने



काठमाडौ । अर्थमन्त्री डा रामशरण महतसँग नेपालका लागि साउदी अरेबियाका राजदूत अब्दुल नासेर हुसेन अल हार्थीले शक्रबार अर्थमन्त्रालयमा भेटी नेपालको पुनर्निर्माणमा सहयोग गर्ने बचन दिनुभएको छ  । सो अवसरमा नेपालमा हालै गएको भूकम्प, क्षति, नेपाल सहायता सम्मेलन तथा साउदी अरेबियाको संभावित सहयोगबारे पनि छलफल भएको थियो ।

सो अवसरमा अर्थमन्त्री डा महतले पुनर्निर्माणमा सहयोग जुटाउन सहायत सम्मेलन आयोजना गर्न लागेको र सो सम्मेलनमा साउदी अरेबियाबाट उच्चस्तरीय सहभागिताको अपेक्षा गरिएको धारणा राख्नुभयो । उहाँले यो विपद्को बेलामा नेपालले दाताहरुबाट ऋणभन्दा पनि अनुदान सहायता खोजेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले भूकम्पले नेपालको निजी घर तथा सम्पत्ति, सरकारी कार्यालय, हस्पिटल, विद्यालय, राष्ट्रिय अन्तर्राष्ट्रिय सम्पदाहरुमा ठूलो क्षति पुर्याएपनि सरकार तिनलाई छिटै पुनर्निर्माण गर्ने र अझ राम्रो तथा व्यवस्थित पुनर्निर्माण गर्ने स्पष्ट पार्नुभयो । क्षति ठूलो भएको जानकारी दिदै उहाँले पुनर्निर्माणका लागि मित्रराष्ट्र तथा दातृ निकायहरुबाट ठूलो सहयोगको आवश्यकता रहेकोमा जोड दिनुभयो ।
सो अवसरमा साउदी राजदूत हार्थीले साउदी सरकार यो विपद्को अवस्थामा सहयोग गर्न तयार रहेको र नेपालले चाहे अनुसार अनुदान सहयोगका लागि आफ्नो सरकारसँग अनुरोध गरिने जानकारी दिनुभयो । उहाँले छिटै जानकारी पाएमा सहायता सम्मेलनमा उच्चस्तरीय सहभागिता जुटाउन सकिने जानकारी पनि दिनुभएको थियो ।

यसैगरी शक्रबार नै अर्थमन्त्री डा महतसँग नेपालका लागि युरोपेली संघका राजदूत रेन्जी टिरिन्कले अर्थमन्त्रालयमा भेटघाट तथा छलफल गर्नुभयो । सो अवसरमा अर्थमन्त्री डा महतले हालै गएको भूकम्प र यसले पुर्याएको क्षतिबारे जानकारी दिनुभएको थियो । भूकम्पले नेपालको अर्थतन्त्रमा पुर्याएको क्षति र सरकारले अर्थतन्त्रलाई चलायमान गराउन लिएका निर्णयबारे जानकारी दिदै उहाँले भन्नुभयो, भूकम्पले दैनिक आर्थिक गतिविधिहरुका अतिरिक्त रियलस्टेट, पर्यटन र जलविद्युत आयोजनाहरुमा धक्का पुगेको छ ।
सो अवसरमा युरोपेली संघका राजदूत टिरिङ्कले सहयोग गर्न युरोपेली मुलुकहरु तयार रहेको जानकारी दिदै नेपाल सहायता सम्मेलन तथा युरोपेली संघले गर्नुपर्ने सहयोगबारे जिज्ञासा राख्नुभएको थियो । उहाँले भूकम्पले पुर्याएको धनजनको क्षतिप्रति दुख व्यक्त गर्नुभएको थियो ।
यसअघि बिहीबार यूएसएडका निर्देशक बेथ डनफोर्डले अर्थमन्त्रालयमा भेटी संस्थाले गरेका गतिविधिहरुबारे जानकारी दिनुभएको थियो । त्यसैगरी उहाँले सहायता सम्मेलन, आयोजनास्थल र नेपाललाई चाहिने पुनर्निर्माण सहायता रकमबारे जिज्ञासा राख्नुभएको थियो ।

प्रकाशित : ८ जेष्ठ २०७२, शुक्रबार १२:४०