२४ घण्टा नबित्दै वीरगञ्ज नाका अवरुद्ध पार्ने मोर्चाको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

२४ घण्टा नबित्दै वीरगञ्ज नाका अवरुद्ध पार्ने मोर्चाको निर्णय



काठमाडौ । झण्डै पाँच महिनादेखि ठप्प रहेको वीरगञ्ज रक्सौल नाका शुक्रबार स्थानीयवासी र व्यापारीहरुको पहलमा खुलेको २४ घण्टा नबित्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बारा र पर्सा समितिको संयुक्त बैठकले पुनः नाका अबरुद्ध गर्ने निर्णय गरेको छ ।  शनिवार बिहान दुई जिल्लाका नेताहरुको वीरगञ्जमा बसेको संयुक्त बैठकले शनिवार दिउँसो २ बजेदेखि नाका अवरुद्ध गर्ने निर्णय गरेको हो ।

केन्द्रीय तहबाट कुनै निर्णय नआएसम्मका लागि खुलेको नाका बन्द गर्ने निर्णय गरिएको बैठकमा सहभागी नेताहरुलाई उद्धृत गर्दै स्थानीय संचारकर्मीहरुले बताएका छन् । बैठकपछि दुई जिल्लाको स्थानीय मोर्चाले संयुक्त विज्ञप्ति जारी गर्दै २ बजेदेखि नाका अवरुद्ध पारिने बताएको छ ।

तराई मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले आफूहरुले नाका नछाडेको, तर स्थानीय, व्यापारी र प्रहरीले मिलेर आफ्नो पाल जबरजस्ती उठाएको र आफ्ना कार्यकर्तामाथि दमन गरेकोले नाकामा अबरोध गर्ने निर्णय गरिएको दाबी गरे । उनले एक दुई दिनभित्र नाका खोल्ने निर्णय आउने आशामा नाकामा आफूहरुको धर्नालाई केही खुकुलो बनाएको बेला दमन गर्न खोजिएकोले केन्द्रबाट प्रष्ट निर्णय नआएसम्म नाकामा पुनः अवरोध गरिने उनको भनाई छ । तर उनले नाकाबन्दी आधिकारिक रुपमा चाँडै खुल्ने संकेत गर्दै शनिवार २ बजेदेखि हुने नाकाबन्दी बढीमा एक दिन मात्र रहने र त्यसपछि केन्द्रको निर्णय अनुसार खुलाइने दाबी गरे ।

यसैबीच, ५ महिनादेखि ठप्प नाका खुलाइएको बारे औपचारिक निर्णय गर्न संयुक्त मधेशी मोर्चाका नेताहरु बाक्ला छलफलमा रहेका छन् । उनीहरुले छिटोमा शनिवार राति र ढिलोमा आइतबार दिउँसोसम्म विज्ञप्ति जारी गरेर नाकाबन्दी खुलेको घोषणा गर्ने स्रोतको भनाई छ ।

उता, मोर्चाका स्थानीय समिति तथा नेताहरुको जोडमा वीरगञ्ज नाका पुनः अवरोध गर्ने निर्णय बाहिर आए पनि यो समाचार तयार पार्दासम्म नाकामा अवरोध भएको छैन । नाकाबाट मालबाहक साधनहरु आवतजावत भइरहेका छन् । चहलपहल समेत निकै बढेको छ । आयल निगमले इन्धन ल्याउन ट्यांकरहरु समेत धमाधम पठाउन थालेको छ ।

शुक्रबार मितेरी पुल हुँदै केही मालबाहक कन्टेनर पनि नेपाल आएका थिए । त्यसपछि बिहान मात्रै झण्डै १२ वटा ट्याकंर वीरगञ्ज नाका भएर रक्सौल गइसकेको वीरगञ्ज भन्सारका अधिकारीहरुले बताएका छन् । शनिबार नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनको रक्सौल डिपोमा डिजेल भर्ने र पेट्रोल लिन बरौनी पुग्ने गरी ट्यांकर पठाउन थालेको हो । शनिवार झण्डै ३५ वटा ट्यांकरलाई वीरगञ्ज नाका भएर नै तेल भर्न पठाउने तयारी भएको आयल निगमको अमलेखगञ्ज डिपो स्रोतले जनाएको छ । यसमध्ये अधिकांशले बरौनी डिपोमा तेल भर्नेछन् ।

वीरगञ्ज भन्सारका प्रमुख मित्रलाल रेग्मीले नाकाको अवस्था सामान्य रहेको बताए । वीरगञ्जमा रोकिएका अधिकांश गाडी रि–रुट भएर अन्य नाकाबाट गएकाले केहि दिन भन्सार पास भएर थोरै मात्रै गाडी नेपाल भित्रिने उनको अनुमान छ । उनको अनुमानमा नाका पुरानै अवस्थामा फर्किन कम्तीमा २० दिन लाग्नेछ ।

प्रकाशित : २३ माघ २०७२, शनिबार ११:११