प्रभु बैंकको एकिकृत कारोवार शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रभु बैंकको एकिकृत कारोवार शुरु



काठमाडौं । प्रभु बैंकले एकिकृति कारोवार शुरु गरेको छ । प्रभु बैंक र ग्राण्ड बैंकबीच मर्ज भई आज एक कार्यक्रमबीच प्रभुको नामबाट एकिकृत कारोवार शुरु गरेको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले एकदमै उपयुक्त समयमा सफलता पुर्वक मर्जर सफल गरेको बताए । ‘भर्खरै मात्र भारतसँगको सीमानाका खुलेको छ,’ उनले भने, ‘यो अवस्थामा मर्जर प्रक्रिया सकेर एकिकृत कारोवार गर्नु बैंकको ‘गुडलक’ हो ।’ बजारमा आर्थिक गतितिविधि बढ्न लागेको बेला बैंकले एकिकृत कारोवार शुरु गरेर प्रशंसनीय काम गरेको समेत उनले जानकारी दिए ।

नेपालको मर्जर इतिहासमा प्रभु एकदमै सफल भएको समेत गभर्नर नेपालले जानकारी दिए । ‘यस अघि पनि प्रभुले धरासयी भएको किष्ट बैंकलाई लिएर सफल रुपमा काम गरिसकेको छ,’ उनले भने, ‘अहिले पनि सोही अवस्थामा पुग्न लागेको ग्राण्डलाई पनि सफल रुपमा मर्जर गरिसकेको छ ।’ साथै, बैंकले छोटो समयमै सफलता हात पारेको बताए । ‘आजभन्दा १० वर्षअघि फाइनान्स कम्पनीको रुपमा स्थापना भएको यो संस्था शाखा संजालको हिसावले निजी क्षेत्रको सवैभन्दा ठूलो बैंक बन्न पुगेको छ,’ उनले भने ।

कार्यक्रममा प्रभु बैंकका अध्यक्ष देवीप्रकाश भट्टचनले छोटो समयमै आठ वटा वित्तीय संस्थालाई सफल रुपमा मर्जर गरेर अघि बढेको बताए । साथै, निकट भविश्यमा नेपाल विकास बैंकलाई पनि खरिद गरी त्यसका सेयरधनीलाई प्रभुको नामबाट सेयर जारी गरिने उनले जानकारी दिए । एकिकृत कारोवारसँगै बैंकको चुक्त पुँजी ५ अर्ब २० करोड रुपैयाँ पुगेको छ । मर्जरसँगै बैंकको सेयर होल्डर संख्या ७९ हजार जना पुगेका छन् । नेपाल विकास बैंकलाई खरिदगरेसँगै बैंकको चुक्त पुँजी ५ अर्ब २४ करोड ८८ लाख पुग्ने समेत उनले जानकारी दिए ।

भट्टचनका अनुसार बैंकले चैत्र मसान्तसम्ममा १ खर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गर्ने गर्ने छ । पुस मसान्तसम्ममा ५५ करोड रुपैयाँ नाफा गरिसकेको र केही समयभित्रै ग्राण्ड बैंकको ४० कारोड राइटव्याक उठ्न लागेकोले बैंकको नाफा उच्च रुपमा बृद्धि हुने उनले जानकारी दिए । मर्जरसँगै बैंकको खराव कर्जा कुल कर्जा प्रवाहको ११ दशमलव ५६ प्रतिशत रहेको छ । आगामी असोजभित्र ५ प्रतिशतभन्दा तल झार्ने समेत बैंकले जानकारी दिएको छ ।

बैंकले नेपालमै पहिलो पटक मास्टरकार्ड संचालनमा ल्याउन लागिएको समेत जानकारी दिए । हाल नेपालका बैंक वित्तीय संस्थाले एसटिसी र भिसा कार्ड जारी गरिरहेका छन्,’ उनले भने, ‘अव प्रभुले अन्तरराष्ट्रिय स्तरको मास्टरकार्ड जारी गर्ने तयारी गरेको छ ।’

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अघिकृत अशोक शेरचनले मर्जरको समयमा केही आसंका गरिएपनि आफुहरुले सफलता पूर्वक मर्जर सम्मपन्न गरेको जानकारी दिए । स्थापना भएको छोटो समयमै बैंकलाई ट्रयाकमा ल्याउन सफल भएको बताउँदै आगामी दिनमा अझ द्वुत गतिमा अघि बढ्ने बताए । मर्जसँगै शाखा संजाल र एटीएमको हिसावले प्रभु निजी क्षेत्रकै ठूलो बैंकको रुपमा स्थापित भएको छ । हाल बैंकको शाखा तथा काउण्टर संख्या १ सय ३६ पुगेको छ भने निक्षेप संख्या ७ लाख ५० हजार पुगेको उनले जानकारी दिए । आगामी दिनमा बैंकले ग्राहकलाई नेपालमा उपलब्ध सम्पूर्ण खालका आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने समेत प्रतिवद्धता जायर गरे ।

यसैगरी, धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतवहादूर कार्कीले सफल मर्जरका लागि कडा कानुन चाहिने बताए । विश्वका कतिपय देशमा कडा कानुन भएकै कारण सफल मर्जर भएको उदाहरण दिँदै नेपालमा पनि राष्ट्र बैंकले सोही अनुरुपको कानुन बनाउनु पर्ने बताए ।

प्रकाशित : १ फाल्गुन २०७२, शनिबार ००:३८