सरकारको निति तथा कार्यक्रमःपरिस्कृत नभएको निबन्ध -महत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सरकारको निति तथा कार्यक्रमःपरिस्कृत नभएको निबन्ध -महत



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री रामशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई परिस्कृत नभएको निबन्धको संज्ञा दिएका छन् । रिपोर्टर्स क्लबमा शनिबार उनले भने, ‘नीति तथा कार्यक्रम भनेको त आगामी एक वर्षको लागि हो, तर सरकारले धेरै महत्वकांक्षी योजना तथा कार्यक्रमहरु ल्याएको छ ।

जसको सम्भाव्यता अध्ययन गर्नै वर्षौं लाग्छ ।’ महतले सरकारले आफ्नो चरित्र सुहाउँदो नीति तथा कार्यक्रम ल्याएको पनि आरोप लगाए । उनले भने, ‘यो सरकार कामभन्दा प्रचारमुखी छ । यसले ल्याएको नीति तथा कार्यक्रममा धेरै प्रोपोगाण्डा छन् ।’ उनले नीति तथा कार्यक्रम एक वर्षको लागि भएकोले छोटो हुनुपर्नेमा धेरै लामो भएको पनि टिप्पणी गरे । महतले भने, ‘दुई घण्टा लामो भाषण गरियो । यति लामो भाषण त नेपालको ईतिहासमा कहिल्यै भएको थिएन ।’ त्यस्तै नेता महतले ‘नेपाल सरकार’ भन्नुपर्ने ठाउँमा पटक–पटक ‘मेरो सरकार’ भनेर सम्बोधन गर्नुमा राष्ट्रपतिको दोष नभएर सरकारको दोष भएको पनि बताए । महतले भने, ‘यो जनताको सरकार हो ।’ आफ्नो पार्टीनिकटका नेताहरुको नाममा धेरै भन्दा धेरै कार्यक्रमहरु ल्याईएको पनि उनले गुनासो पोखे । महतले थपे, ‘नेपाली कांग्रेसले पछिल्लो २५–३० वर्षको ईतिहासमा १६–१७ वटा नीति तथा कार्यक्रम ल्याईसकेको छ । तर, हामीले कहिल्यै पनि नेताका नाममा धेरै कार्यक्रमहरु ल्याएनौं । विपीको नाममा एक दुई वटा अस्पताल, शिक्षालगायतका कार्यक्रमहरु ल्यायौं । अरु कुनै घोषणा गरेनौं ।’ उनले अहिले राष्ट्रपति र प्रधानमन्त्रीको नाममा धेरै कार्यक्रमहरु ल्याईएकोप्रति असन्तुष्टि पोखे । उनले भने, ‘कतिपय कार्यक्रमहरु त प्रचारमुखी छन् ।

कतिपय सरकारले गरेका कामका दाबीमा पनि सत्यता छैन् ।’ सरकारले सबैखाले संक्रमणकालिन अवस्थाको अन्त्य भयो भनेर दाबी गरेपनि यसमा कुनै सत्यता नभएको महतले जिकिर गरे । उनले थपे, ‘अहिले पनि संक्रमणकालिन न्यायको काम बाँकी नै छन् । छ हजारभन्दा बढि उजुरी छ । कानून संशोधन गर्नुपर्छ ।’ केन्द्र, प्रदेश तथा स्थानीय सरकारबीच अधिकार बाँडफाँडको पनि समस्या रहेको महतको भनाई छ । उनले भने, ‘तीन तहको सरकारबीच अधिकारको विवाद छ । क्षेत्राधिकार के हो ? भन्ने विवाद छ ।’ महतले सविधान कार्यान्वयनको पनि संक्रमण अझै बाँकी रहेको सुनाए । सरकारले फजुल खर्च रोक्न नसकेको र बजेटको दुरुपयोग धेरै भएको पनि टिप्पणी गरे । चार वर्षअघिदेखि सुरु गरिएको विरगन्ज–रक्सौल पेट्रोलियम पाईपलाईनको कामलाई पनि यही सरकार आएपछि गरेको भनेर अनावश्यक दाबी गरेको पनि महतले आरोप लगाए । सरकार आत्मरतिमा रमाएको र आत्माप्रशंसा गरेको पनि उनले टिप्पणी गरे । महतले भने, ‘नीति तथा कार्यक्रममा बढाईचढाई गरेको छ । कतिपय बाँकी काम सम्पन्न भैसक्यो भनिएको छ ।’ नीति तथा कार्यक्रममा कुनै प्राथमिकता नै नभएको पनि उनले टिप्पणी गरे । महतले भने, ‘हुने नहुने कुराहरु पनि लेखिएका छन् ।

एक वर्षको लागि ल्याईएको कार्यक्रम चार वर्ष र पाँच वर्षभित्र गर्ने भनेर ल्याईएको छ ।’ रेलवे निर्माणको बारेमा पनि सरकारले महत्वकांक्षी दाबी गरेको महतको भनाई छ । सुरु गरिएका र यही वर्ष सम्पन्न गरिसक्ने भनिएका मेलम्ची आयोजना, अप्पर तामाकोशी, सिक्टा सिँचाई आयोजनालगायत राष्ट्रिय आयोजनाहरुको काम अहिले रोकिएको पनि उनले सुनाए । नेता महतले सरकारले संस्थागत क्षमता र कार्यान्वयन क्षमता बढाउनेतर्फ ध्यान दिनुपर्ने बताए । उनले भने, ‘सायद यसबारेमा सरकारलाई जानकारी नै छैन् । त्यसैले सबैभन्दा ठूलो कुरा मुलुकको कार्यान्वयन क्षमता बढाउनुपर्छ । प्रशासनिक क्षमता दिनप्रतिदिन घटिरहेको छ ।’ कर्मचारीतन्त्रमा राजनीतिकरण गरिएको र पार्टीनिकट भएका कर्मचारीहरुलाई मूख्य पोजिशनमा राखिएको पनि उनले सुनाए । मुलुकमा सरकारले हल्ला गरेजस्तो सुशासन नभएको पनि उनले आरोप लगाए । महतले थपे, ‘अहिले पनि सुशासनको अभाव छ । नीति तथा कार्यक्रममा पटक–पटक सुशासन छ भनियो । तर, सरकारले भनेजस्तो अवस्था छ ।’

प्रकाशित : २१ बैशाख २०७६, शनिबार १८:५१