भारतमा उठाउनैपर्ने केही विषय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भारतमा उठाउनैपर्ने केही विषय



bharat
–भरतमोहन अधिकारी

–भरतमोहन अधिकारी

झन्डै साढे चार महिनादेखि भारतले लगाएको अघोषित नाकाबन्दी अघोषित प्रकारले नै खुलेको छ । प्रधानमन्त्री केपी ओली नाकाबन्दी नखोली भारतमा नजाने अडानमा बस्नुभएको थियो । अब नाकाहरू खुलेका छन् । यसले वातावरणलाई केही सहज बनाएको छ । प्रधानमन्त्री ओली यही फागुन ७ गतेबाट भारतको राजकीय भ्रमणमा जाने निश्चित भएको छ । विगत साढे चार महिनादेखि भारतले लगाएको नाकाबन्दीले हाम्रो अर्थतन्त्रलाई तहसनहस गरेको छ । आम जनताको जीवनमा नराम्रो असर पारेको छ । ०७२ वैशाख १२ गतेको महाविनाशकारी भूकम्पले थिलथिलो पारेको नेपाली जनजीवनलाई अन्यायपूर्वक लगाइएको नाकाबन्दीले भूकम्पभन्दा कैयौं बढी नोक्सानी, कैयौं बढी पीडा दिएको छ । यसकारण यो नाकाबन्दीबाट पाठ सिक्दै भविष्यमा देश र जनताले यस्तो पीडा भोग्न नपरोस् भन्ने कुराको सुनिश्चितता गर्नु आज सरकारको प्रमुख जिम्मेवारी हो । भारतले बेला—बेलामा गर्ने यस्तो नाकाबन्दीलाई निस्तेज गर्न नेपालको सामुन्ने एउटामात्र विकल्प छ । त्यो के हो भने उत्तरी छिमेकी चीनसँगको व्यापारिक नाका खोल्ने । अब उत्तरका सातवटा नाका खोल्न सरकारले प्राथमिकताका साथ अघि बढ्नुपर्छ । अर्कोतर्फ हाम्रो अर्थतन्त्रको सञ्चालनमा भएका त्रुटिहरूको कारण हाम्रो परनिर्भरता, त्यसमा पनि भारतसँगको निर्भरता निकै बढ्दै गइरहेको छ । यस कुरातर्फ यसपालीको नाकाबन्दीले हामी सबैको आँखा उघारिदिएको छ । यसलाई सन्तुलनमा ल्याउनैपर्छ । यसको लागि वैदेशिक व्यापारको देशगत र वस्तुगत विविधीकरण गर्ने, देशभित्र कृषिजन्य वस्तुको उत्पादनमा जोड दिएर आत्मनिर्भर हुन सक्नुपर्छ । हालै सरकारले कृषिजन्य वस्तुहरूको उत्पादनमा दुई वर्षभित्र आत्मनिर्भर बनाउने घोषणा गरेको छ । यो स्वागतयोग्य कदम हो । तर यसलाई पुरा गर्न तदनुरूपको कार्यक्रम ल्याउनुपर्छ । साना तथा घरेलु उद्योगलाई बढावा दिएर गाउँघरमा रोजगारी बढाउने, उत्पादन बढाउने, निर्यात बढाउने कार्यतर्फ ठोस कार्यक्रम लिएर अगाडि बढ्नुपर्छ । त्यसै प्रकारले देशमा ऊर्जा उत्पादनलाई प्राथमिकता दिई ऊर्जामा आत्मनिर्भर हुने प्रभाबकारी कार्यक्रम ल्याउन जरुरी छ ।
अहिले देशको आन्तरिक अर्थतन्त्रमा ठूलो संकुचन आएको छ । त्यसैले देशभित्र उत्पादन बढाउने र रोजगारी बढाउने काममा प्राथमिकता दिन जरुरी छ । यस कुरामा सरकारले प्रमुख राजनीतिक पार्टीहरूबीच सहमति गरी राष्ट्रिय संकल्प गर्नुपर्छ । साढे चार महिनादेखि भारतबाट लगाइएको अघोषित नाकाबन्दीबाट नेपालले सिक्ने पाठ यो पनि हो । भारतसँग हाम्रो लामो ऐतिहासिक सम्बन्ध छ । यसलाई अरू कसैले कुनै प्रकारले पनि प्रतिस्थापन गर्न सक्दैन । भारत र नेपालको मैत्रीपूर्ण, सुमधुर सम्बन्ध दुबैका लागि आवश्यक र हितमा छ । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमणका बखत जुन उचाइमा दुई देशको सम्बन्ध अघि बढ्ने आशा गरिएको थियो, अघोषित नाकाबन्दीले त्यसलाई त्यत्तिकै रसातलमा झारिदिएको छ । अविश्वास र तिक्तताको वातावरण छ ।
यो दुःखद स्थिति हो । यस्तो बखत प्रधानमन्त्री ओलीको भारत भ्रमण हुँदैछ । यो भ्रमण अन्त्यन्तै अप्ठ्यारो अवस्थामा भइरहेको हुनाले अत्यन्तै जोखिमपूर्ण र त्यतिकै महत्त्वपूर्ण पनि छ । नेपाल–भारत सम्बन्धलाई तत्कालै सामान्य र सहज बनाउनु यो भ्रमणको एउटा प्रमुख उद्देश्य हुनुपर्छ । त्यसका लागि तत्काल गर्नुपर्ने काम भनेको नेपाल–भारत बीचका सबै व्यापारिक नाकाहरूलाई सहज बनाई आपूर्ति व्यवस्थालाई सहज बनाउने हो । भारतबाट ल्याइने पेट्रोलियम पदार्थको आपूर्तिलाई भारतले सहज बनाउनुका साथै नाकाबन्दीको बेला रोकिएका कोटाहरू पनि उपलब्ध गराइदिनुपर्छ, जसबाट नेपालमा पेट्रोलियम पदार्थको उपलब्धता सहज बनोस् र अहिले भइरहेको कालोबजारी र तस्करीको अन्त्य हुन सकोस् । नेपालमा भइरहेको कालोबजारीको जालोलाई चिर्न केही समयका लागि नेपाली बजारमा आवश्यकताभन्दा बढी पेट्रोलियम पदार्थको आपूर्ति गरिदिनु उचित उपाय हो । यसले कालोबजारी र तस्करीलाई अन्त्य गर्नेछ । त्यस्तै नेपालको पारवहन सन्धि भारतसँग मात्र छ, तेस्रो देशबाट भारत भएर आउने पारवहन सुविधालाई भारतले नै सहज बनाइदिनुपर्छ । तत्काल यी कामहरू गर्नसकेमा नाकाबन्दीका दुष्परिणामहरूलाई न्युनीकरण गर्दै जान सकिन्छ । डेढ वर्षअघि नेपाल भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री मोदीले नेपाली संसदमा पञ्चेश्वर परियोजना यसै वर्षदेखि सुरु हुने घोषणा गर्नुभएको थियो । त्यसको केही समय त पञ्चेश्वर परियोजनाले गति पनि लियो । आवश्यक व्यवस्थापकीय कार्य पनि भए । तर फेरि ढिलाइ हुनथालेको छ । पञ्चेश्वर परियोजनालाई भारतले १७ वर्षदेखि रोकेको छ । भारतीय कर्मचारीतन्त्रले यसलाई अघि बढ्न दिइरहेको छैन ।
यो परियोजना नेपाल–भारत दुबैको हितमा छ । यसकारण यसपटक दुबै प्रधानमन्त्रीको भेटमा समयतालिका निर्धारण गरी यस परियोजनालाई पुरा गर्न निर्देशन दिन जरुरी छ । काठमाडौं आउँदा मोदीले नेपाललाई एक अर्ब डलर सहुलियत दरको ऋण दिने घोषणा गर्नुभएको थियो । तर नेपालले अहिलेसम्म यो सहुलियत ऋणलाई उपयोग गर्ने कार्यक्रम नै बनाउनसकेको छैन । यसपाली दुबै प्रधानमन्त्रीको बैठकमा नेपालले यो सहुलियत ऋणलाई नेपालको जलविद्युतको विकासमा लगाउने कार्यक्रम प्रस्तुत गर्नुुपर्छ र भारतबाट अनुमोदन गराउनुपर्छ । ‘लोडसेडिङ’को ठूलो मार खेपिरहेको नेपालले भारतको यो सहुलियत ऋणलाई जलविद्युतको विकासमा लगाउनु उपयुक्त हुन्छ । भूकम्पबाट भएको क्षतिमा पुनर्निर्माण कार्यका लागि पनि भारतले केही अनुदान र केही सहुलियत ऋण प्रदान गरेको छ । त्यसलाई निर्माण र पुनर्निर्माण सम्बन्धी ठोस कार्यक्रमको जानकारी भारतलाई यसपटक नेपालले गराउनु उचित हुन्छ ।
हामीले भारतको चासो र हितलाई पनि ध्यान दिनुपर्छ । नेपालको भूमिलाई कुनै पनि प्रकारले भारतको विरोधमा उपयोग गर्न दिने छैनौं भन्नेमा भारतलाई विश्वास दिलाउनुपर्छ । नेपालमा गरिने भारत विरोधी गतिविधि नेपाल विरोधी पनि मानिने र तदनुरूप नेपालले कारबाही गर्ने कुरा हामीले विश्व समुदायसमक्ष सार्वजनिक रूपमै उद्घोष गरिदिनुपर्छ । नेपाल भारतसँग मिलेर आर्थिक सहयोग र साझा समृद्धिका कार्यक्रम बनाउन चाहन्छ र भारतीय लगानीकर्तालाई नेपालले सधैं स्वागत गर्छ भन्ने कुरामा हामीले भारतलाई विश्वास दिलाउनुपर्छ । त्यसै प्रकार भारतले नेपालमा सूक्ष्म व्यवस्थापनमा रुचि लिनु हुँदैन । नेपाल–भारत बीचको सम्बन्धको समस्या भनेकै भारत ब्रिटिस–इन्डियाको मानसिकताबाट माथि उठ्न नसक्नु हो । विश्वमा युगान्तकारी परिवर्तनहरू भए । हाम्रा छरछिमेकमा पनि ठूला परिवर्तन भएका छन् । तर अहिले पनि भारतीय कर्मचारीतन्त्रको नेपाल हेराई उही पुरानो छ । भारतीय कर्मचारीतन्त्रमा अनुदारवादी सोच छ । भारत—नेपाल दुई असल छिमेकी र एकअर्काको हित चाहने सहयोगी राष्ट्रहरू हुन् भन्ने चिन्तनको विकास हुन जरुरी छ । पहिलो पटक नेपाल आउँदा मोदीले भारत नेपालसँग राजनीतिक रूपमा सबै समस्याको समाधान गर्न चाहन्छ, राजनीतिक सुसम्बन्ध कायम गर्न चाहन्छ भन्नुभएको थियो । उहाँको यही भनाइलाई कडीको रूपमा लिएर नेपाल–भारत सम्बन्धमा उठेका समस्यालाई कर्मचारी तहमा होइन, राजनीतिक तहमा निरुपण गर्ने र राजनीतिक तहमा सम्बन्ध सुदुढ गर्ने व्यवस्था मिलाउनेतर्फ पनि दुई प्रधानमन्त्रीको भेटघाटले बाटो देखाउनुपर्छ । यसपाली दुई प्रधानमन्त्रीको भेटमा नेपालले भारतसँग राख्नुपर्ने एउटा विषय के छ भने केही समयअघि भारतीय प्रधानमन्त्री मोदी चीन गएको बखत भारत र चीनका प्रधानमन्त्रीहरूले संयुक्त रूपमा जारी गरेको वक्तव्यको एउटा बुँदामा भारत, नेपाल र चीनको आर्थिक क्षेत्र (इकोनोमिक जोन) बनाउने कुरा उल्लेख छ । त्यो भनेको के हो ? दुइटा महान छिमेकी राष्ट्रहरूले आर्थिक विकासमा नेपाललाई पनि संलग्न गराउन खोज्नु हाम्रालागि खुसीको कुरा हो । हाम्रा यी दुई छिमेकीबीच आर्थिक—व्यापारिक सम्बन्ध गाढा हुनु सुखद कुरा हो । भारत–चीनबीच आर्थिक–व्यापारिक सम्बन्धमा नेपालले पुलको भूमिका खेल्न पाउनु अझै खुसीको कुरा हो । हामी पनि चीन र भारतसँग मिलेरै त्रिदेशीय आर्थिक समृद्धिमा साझा प्रयत्न गर्न तयार छौं भनेर नेपालका प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीलाई भन्नुपर्छ । यही कुरा केही समयपछि चीनमा गएको बखत प्रधानमन्त्री ओलीले चिनियाँ प्रधानमन्त्रीलाई पनि भन्नुपर्छ ।

यो त्रिदेशीय आर्थिक साझा समृद्धिको प्रस्ताव तीन देशको हितमा मात्र होइन, दक्षिण एसियाकै हितमा छ । नेपालले यसलाई त्यही वजनका साथ दुबै देशसमक्ष राख्नुपर्छ । यो छोटो अवधिमा दुई प्रधानमन्त्रीले दुई देशबीच सबै सरोकारका विषय टुंगो लगाउन गाह्रो छ । तर यो अप्ठ्यारो अवस्थामा दुई प्रधानमन्त्रीको बैठक सामान्य कुरामात्र गरेर सक्दा राम्रो सन्देश जाँदैन । त्यसकारण यसपाली दुई प्रधानमन्त्रीको बैठकले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा लैजान केही पहल गर्नुपर्छ । नेपालको भ्रमणमा आएका बखत प्रधानमन्त्री मोदीले दुई देशले प्रबुद्ध समूह बनाउने प्रस्ताव गर्नुभएको थियो ।नेपालले त प्रबुद्ध समूह बनायो, भारतले पनि तत्काल त्यस्तो समूह बनाओस् । यसपाली दिल्लीमा हुने दुई प्रधानमन्त्रीको बैठकले नेपाल–भारतबीच रहेका सबै सन्धि–सम्झौता र आपसी सम्बन्धका सबै पक्षको आवश्यक अध्ययन गरी यो २१ औं शताव्दीमा नेपाल–भारत सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्दै दुई देशको शान्ति, समृद्धि, स्थायित्व र आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई गाढा बनाउन यो दुबै प्रबुद्ध समूहले संयुक्त रूपमा ६ महिनाभित्र ठोस प्रस्ताव पेस गरोस् भनेर निर्देशन दिनुपर्छ । ताकि दुई देशका भावी सन्ततिहरू शान्ति, मैत्री र सहयोगको वातावरणमा हालेमालो गरी अघि बढ्न सकुन् । नेपाल–भारतको नयाँ सम्बन्धले विश्वमा नमुना पेस गर्न सकोस् । यसपाली दुई प्रधानमन्त्रीको दिल्ली बैठकले माथि उल्लिखित कार्यहरू गर्नसकेमा त्यो ऐतिहासिक हुनेछ र दुबै देशका जनतामा यसले नयाँ उत्साह र उमंग ल्याउनेछ ।

(पूर्वमन्त्री अधिकारी नेकपा एमालेका नेता हुन् ।

– कान्तिपुर दैनिकबाट ।

प्रकाशित : ४ फाल्गुन २०७२, मंगलवार ०९:१५