सिभिल बैंक मर्जरमा जाने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सिभिल बैंक मर्जरमा जाने



काठमाडौं । सिभिल बैंकले दुई वर्षको वार्षिक साधारणसभा शुक्रबार एकैपटक गरेको छ । सिभिल बैंक लिमिटेडको सातौं र आठौं वार्षिक साधारण सभा बैशाख २७ गते अमृतभोग, कालिकास्थान डिल्लीबजार, काठमाडौंमा सम्पन्न भएको छ । उक्त सभाबाट संचालक समितिले प्रस्ताव गरेको दुई वर्षको लाभांश पारित गरेको छ । बैंकले सातौ र आठौं साधारणसभामा १०.२५ प्रतिशत बोनस शेयर र ४.५९ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट १० दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५४ प्रतिशत नगद लाभांश तथा आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट ४.०५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो । बोनसपश्चात सिभिल बैंकको चुत्ता पुँजी ८ अर्ब ८२ करोड ३७ लाख पुगेको छ ।

साधारण सभाले बैंककोे संस्थापक शेयरधनीहरुको तर्फबाट ई. इच्छा राज तामाङ्ग, अम्बीर बोगटी, प्रताप जङ्ग पाण्डे तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रकाश तायल, शम्भु प्रसाद पन्त र युगेश बहादूर मल्ललाई संचालक पदमा आगामी चार बर्षको लागि निर्विरोध निर्वाचित गरेको छ ।

साथै सभाले आ.व. २०७५/०७६ को लेखापरिक्षण गर्नको लागि बिआरएस न्यौपाने एण्ड कम्पनीलाई लेखापरिक्षकमा नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन ) गर्न/हुन वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता लगायतका आवश्यक सम्पूर्ण कार्यहरु गर्न/गराउन संचालक समितिलाई पूर्ण अख्तियारीे प्रदान गर्ने निर्णय गरेको छ ।

सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । हालसम्म बैंकको ७३ शाखाहरु रहेको र थप ३३ शाखाहरु विस्तारको क्रममा रहेको कुरा पनि बैंकले जनाएको छ ।

प्रकाशित : २७ बैशाख २०७६, शुक्रबार १७:२७