नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीलाई ४८.५० प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीलाई ४८.५० प्रतिशत लाभांश दिने



विरगञ्ज । नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई ४८.५० प्रतिशत लाभांश दिने भएको छ । विरगञ्जमा भएको कम्पनीको १९ औं साधारणसभाले उक्त बोनस प्रस्ताव पारित गरेको हो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर तथा प्रति शेयर २३.५० रुपैयाँ (कर सहित) वितरणको प्रस्ताव पारित भएको कम्पनीले जनाएको छ ।

बोनश शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ५,४९,९६,१६,०८१०/- हुने कम्पनीले जनाएको छ । कम्पनीले कुल बीमाशुल्क आम्दानीमा सर्वाधिक करिब ३२ प्रतिशत बजारहिस्सा हासिल गर्न सफल समेत जानकारी गराइएको छ ।

हाल यस कम्पनीको लगानी ६७ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष ५९ अर्ब रुपैयाँ र शेयरधनी कोष १० अर्ब ४० करोडभन्दा बढी रहेको छ । कम्पनीमा १,२२,००० भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेको कम्पनको दावी छ ।

देशभर फैलिएका आफ्ना हाल करिब १ सय ७७ भन्दा बढी शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । हालसम्म स्वदेश र विदेश गरी झण्डै २५ लाख व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् ।

ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता सभामा गरिएको थियो ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख १९ गते देखि बुक क्लोज गरेकाले वैशाख १८ गतेसम्म कायम सदस्यहरु सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : ४ जेष्ठ २०७६, शनिबार १८:४२