प्रधानमन्त्री ओली भन्छन् – देश न्याय र समानतासहितको समृद्धिको दिशातर्फ अघि बढाइरहेको छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

प्रधानमन्त्री ओली भन्छन् – देश न्याय र समानतासहितको समृद्धिको दिशातर्फ अघि बढाइरहेको छ



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देशलाई न्याय र समानतासहितको समृद्धिको दिशातर्फ अघि बढाइरहेको बताएका छन्। जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उनले वर्तमान सरकार सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लागेको बताए ।

सरकार शताब्दीऔँसम्म विभेद र अन्यायको शिकार भएका दलित समुदायलाई शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा अगाडि बढाउन तल्लीन रहेको सन्देशमा उल्लेख छ । विगतमा पाखा पारिएकाहरुलाई राज्यको मूलप्रवाहमा समाहित गराइरहेको सन्देशमा उल्लेख छ।

आजको एक्काइसौँ शताब्दीमा पनि सामन्तवादको अवशेषका रुपमा रहेको मानव–मानवबीच गरिने जातीय भेदभाव र छुवाछूतको दुव्र्यवहारप्रति कुनै सहिष्णुता नदर्शाइने उनको भनाइ छ । ‘समानता, सद्भाव र सबैको मानवअधिकारको पूर्ण रक्षाका लागि सरकार दृढ छ’, सन्देशमा भनिएको छ।

प्रधानमन्त्री ओलीले सन्देशमा राज्यका हरेक अङ्ग र निकायमा समानुपातिक समावेशी सिद्धान्तअनुसार दलित समुदायको प्रतिनिधित्व गराइने संवैधानिक व्यवस्था रहेको स्मरण गरेका छन्।

राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट दलित समुदायका कम्तीमा एक–एक जना र स्थानीय तहको वडास्तरमा दलित महिलाको अनिवार्य प्रतिनिधित्वलाई कानूनी रुपमा सुनिश्चित गरिएको बताइएको छ।

नेपालले जातीय भेदभाव तथा छुवाछूतको अन्त्यका लागि अन्तर्राष्ट्रिय रुपमा पनि ठोस प्रतिबद्धता जनाएको सन्देशमा भनिएको छ।प्रधानमन्त्री ओलीले यस दिवसले जातीय विभेद र छुवाछूतको दुव्र्यवहारलाई रत्तिभर नसहन तथा हरेक नेपाली नागरिकलाई उत्प्रेरित गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गरेका छन्।

प्रकाशित : २१ जेष्ठ २०७६, मंगलवार ०७:२०