आईपीओ निष्कासनदेखि सूचीकरणसम्मको अवधि घटाउने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आईपीओ निष्कासनदेखि सूचीकरणसम्मको अवधि घटाउने तयारी



IPOs1काठमाडौं । साधारण सेयर निष्कासनदेखि सूचीकरणसम्मको अवधि पूरा गर्दा ६ महिना लाग्ने प्रावधानलाई घटाउने तयारी गरिएको छ । सेयर आह्वान, निष्कासन, बाँडफाँट तथा सूचीकरणदेखि कारोबार थाल्नेसम्मको अवधि दुई महिनाभित्र सक्ने गरी नयाँ नियम ल्याउन लागिएको हो । पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले साधारण सेयरमा लगानी गरेपछि दुई महिनाभित्रै दोस्रो बजारमार्फत बिक्री गर्न सक्ने गरी नयाँ प्रावधान ल्याउन काम अघि बढाएको छ ।

ऋण लिएर साधारण सेयर (आईपीओ) मा लगानी गरेकाहरूले बिक्री गर्दा ६ महिनासम्म कुर्नुपर्ने भएकाले बजार घटेका बेला आईपीओमा समेत लगानीकर्ता आकर्षित नहुने गरेको अवस्था छ । साधारण सेयर निष्कासन र सूचीकरणसम्मका झन्झटिला प्रावधान हटाई सहज बनाउन धितोपत्र बोर्डले गृहकार्य सुरू गरेको छ ।

दुई महिनाभित्र आइपीओ भरेकाले सेयर किनबेच गर्न पाएमा पुँजी बजारप्रति लगानीकर्ताको विश्वास थप बढ्नेछ । धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले आईपीओ निष्कासनदेखि कारोबार हुनेसम्मको अवधि पूरा गर्दा झन्डै ६ महिना लाग्ने भएकाले यो अवधि छोट्याउन गृहकार्य थालिएको बताए ।

’दुई महिनाभित्र सबै काम पूरा गरिसक्नुपर्ने निर्देशन जारी गर्न अध्ययन थालेका छौं’, उनले भने। यसका लागि नियमावली परिमार्जन गर्न अर्थमन्त्रालयको स्वीकृति आवश्यक हुन्छ ।

सेयर निष्कासन गर्नुअघि धितोपत्र बोर्डमा आवेदन दिनुपर्छ । बोर्डले स्वीकृति दिएपछि बिक्रीप्रबन्धकले आह्वानपत्र जारी गर्छ । यसको अवधि १५ दिनको हुन्छ । अझ स्थानीय बासिन्दालाई साधारण सेयर निष्कासन गर्दा ३५ दिनको समय दिइन्छ ।

सेयर आव्हान, निष्कासन, बाँडफाँट तथा सूचीकरणदेखि कारोबार थाल्नेसम्मको अवधि दुई महिनाभित्र सक्ने गरी नयाँ नियम ल्याउन लागिएको हो ।

सामान्यतयः छिटोमा चार दिनसम्म सेयर निष्कासन अवधि रहन्छ । त्यसपछि बाँडफाँटका लागि आवेदन संख्याका आधारमा अधिकतम ७० दिनसम्म समय हुने प्रावधान छ ।

सेयर बाँडफाँटपछि नपरेको रकम फिर्ता भुक्तानी दिन पाँच दिन लाग्छ । रकम फिर्तापछि सेयर प्रमाणपत्र वितरणको अवधि हुन्छ । सूचीकरणका लागि आवेदन दिन ३० दिनको समय हुन्छ । सूचीकरण सम्झौतापछि दोस्रो बजारमा कारोबार हुन एक साता समय लाग्छ ।

यस आधारमा आइपीओ निष्कासनदेखि सूचीकरणसम्मको प्रक्रिया र अवधि निकै लामो र झन्झटिलो देखिन्छ । धितोपत्र बोर्ड र स्टक एक्सचेन्ज दुवैमा निवदेन दिने र यसको अवधि फरकफरक भएकाले यसलाई घटाइने योजना बनाइएको छ। यी सबै प्रक्रिया पूरा गर्नुपर्ने भएपनि समय भने निकै कम गर्न सकिने अवस्था छ ।

सेयर बजार विश्लेषक रविन्द्र भट्टराई बैंकिङ प्रणालीसहित आधुनिक प्रविधि प्रयोग गरी धितोपत्र निष्कासन, बाँडफाँट र सूचीकरण प्रक्रिया छोट्टयाउनुपर्ने बताउँछन् । ’बढी कागजी प्रक्रियामा काम भएकाले पनि आइपीओ निष्कासनदेखि सूचीकरणसम्मका काममा ढिलाई भएकाले प्रविधिको प्रयोग बढाउन आवश्यक छ ।

दुई महिनामा कारोबार गर्न पाउने व्यवस्था भएमा लगानीकर्तालाई निकै ठूलो राहत मिल्छ,’ उनले भने। सेयर कारोबार डिम्याट प्रणालीबाट हुन थालेकाले अब आइपीओ निष्कासन र सूचीकरण अवधि पनि कम गर्न सकिने विज्ञको भनाई रहेको अन्नपूर्ण पोष्टले लेखेको छ ।

बाँडफाँटको अवधि अधिक बढी भएको आमलगानीकर्ताले गुनासो गर्दैआएका छन् । छिमेकी भारतमा निष्कासन बन्द भएको ६ दिनभित्र सेयर बाँडफाँट गरिन्छ । नेपालमा ७० दिनसम्म समय दिंदा ऋण लिएर लगानी गरेकाको लागत निकै उच्च पर्न जान्छ । केही समयअघि जलविद्युत लगानी तथा विकास कम्पनीले पनि बाँडफाँट गर्न ७० दिनभित्र बढी अवधि लगाएको थियो ।

बैंकबाट ऋण लिएर लगानी गर्नेका लागि यस कम्पनीको सेयरमा लागत प्रतिकित्ता तीन सय रूपैयाँभन्दा बढी पर्न आउँछ । धेरै गुणा आवेदन पर्दा लगानीकर्ताले पाउने सेयर हिस्सा निकै कम हुने तथा बाँडफाँट अवधि लामो हुँदा बैंकमा तिर्ने ब्याज बढी हुन जान्छ ।

दुई महिनाभित्र सबै प्रक्रिया पूरा गर्न सके सेयर भर्नेको लागत निकै कम हुन्छ । यसबाट सर्वसाधारणमा पुँजी बजारप्रतिको विश्वास बढ्ने धितोपत्र बोर्डको बुझाइ छ ।

प्रकाशित : ९ फाल्गुन २०७२, आईतवार ०५:५४