उद्योग चलाउन सहकारी फकाउदै मन्त्री अर्याल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

उद्योग चलाउन सहकारी फकाउदै मन्त्री अर्याल



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीमार्फत कृषिमा आत्मनिर्भर हुन सकिने बताएकी छन् ।

ललितपुर जिल्ला बचत तथा ऋण संघको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सहकारीले उत्पादन बढाएर कृषिको व्यापारघाटा कम गर्नुपर्ने बताइन् । ‘अब सहकारी साना साना उद्योगदेखि ठूला प्रोजेक्टसम्म लगानी गर्नै पर्छ’ उनले भनिन् । उत्पादनमा जान सहकारी ऐन र नियमावलीमा समस्या भए संशोधन गर्न तयार रहेको उनको भनाइ छ ।

गरिबी निवारण बिना समृद्धि हासिल गर्न नसकिने भन्दै सहकारीमार्फत नै गरिवी निवारण सम्भव भएको उनको भनाइ छ । बचत तथा ऋण सहकारीको संख्या धेरै भएको भन्दै मन्त्री अर्यालले मर्ज अभियान चलाउने बताइन् । जीवन बदल्ने माध्यम सहकारी नै भएकाले नियमनमार्फत सहकारीलाई सदस्यमैत्री बनाउन दवाव सिर्जना गरिने उनको भनाइ छ । भूमिको अधिकतम उपयोगबाट नै उत्पादन बढाउन सकिने उनले बताइन् । ‘कृषि क्रान्ति आवश्यक छ’ उनले भनिन् ।

मन्त्री अर्यालले सबै प्रकारका गरिबीबाट मुक्त नेपाल बनाउने अभियानमा रहेको बताइन् । भूमिको उत्पादकत्व बृद्धी,उन्नत र आधुनिक कृषी उद्योगको विकास बजारिकरण, खाद्य सम्प्रभुता र ग्रामीण गरिवीको जिवनस्तर उकास्ने कार्यतर्फ सरकार लागिरहेको उनको भनाइ छ ।
’भुमि सुधार भनेको गरिवलाई जग्गा बाँड्ने कुरा मात्र होइन, बाँझो रहेका हजारौं जमिन कसरी कृषी उत्पादनमा लगाई अधिकतम लाभ लिने हो’ उनले भनिन् । सहकारीमा सिधै जनताको पहुंच स्थापित भएको भन्दै उनले नेपालका सहकारी संस्थाहरुमा आवद्ध सदस्य संख्याको ६० प्रतिशत भन्दा बढी महिलाहरुको सहभागिता रहेको बताइन् ।

सांसद नवराज सिलवालले सहकारीमार्फत उद्यमशीलता बढाउदैँ गरिबी निवारण गर्न सम्भव भएको बताए ।  राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सहकारीको जागरण अभियान सकिएको र अब उद्यमशीलतामा जोड दिनुपर्ने बताए ।

ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामहरी बजगाईले रजयत जयन्तीका अवसरमा विविध कार्यक्रमको आयोजना गरिने बताए ।

प्रकाशित : २९ जेष्ठ २०७६, बुधबार २०:४४