पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स एचडी च्यानलको सह–प्रायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स एचडी च्यानलको सह–प्रायोजन



काठमाडौं ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले सह–प्रायोजन गरेको छ ।

डिस मिडिया नेटवर्क र एनएसजेएफबीच शुक्रबार मुख्य सह प्रायोजन (इन एसोसिएसन विथ) सम्बन्धी सम्झौता भएको हो । नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा रहेको पल्सर स्पोर्ट्स अवार्डको लागि एनएसजेएफले डिस मिडियासँग लगातार नवौं वर्ष सहकार्य गरेको हो । आइतबार एक कार्यक्रमबीच एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र डिस मिडिया नेकवर्कका प्रवन्ध निर्देशक सुदिप आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ।

मुख्य सह–प्रायोजकको रुपमा सम्झौता भएसँगै अवार्डको नाम ‘एनएसजेएफ इन एसोसिएसन विथ एक्सन स्पोर्ट्स एचडी प्रिसेन्ट्ज पल्सर स्पोर्ट्स अवार्ड पावर्ड बाई गोल्डस्टार’को नाममा रहने अध्यक्ष सुवेदीले बताउनु भयो ।

सम्झौता अनुसार डिस मिडियाले अवार्डका लागि सात लाख रुपैयाँ नगद र चार लाख रुपैयाँ बराबरको डिस होम सेट–अफ बक्स र दुई बर्षसम्म निशुल्क सुविधा उपलब्ध गराउनेछ । ‘ डिस मिडियासँग सम्झौतामा यस पटक रकम गत वर्षभन्दा चार गुणा वृद्धि भएको छ । सरकारले समेत यस पटक अवार्डको लागि रकम छुट्याएको छ,’ अध्यक्ष सुवेदीले भन्नुभयो ।

यसैगरी डिस मिडियाका प्रवन्ध निर्देशक सुदिप आचार्यले खेलकुद क्षेत्रमै डेडिकेट भएर लागेको डिस मिडिया र नेपालकै पहिलो खेलकुद च्यानल एक्सन स्पोर्ट्स अवार्डको लागि सहकार्य गर्न पाउँदा खुशी भएको बताउनु भयो । उहाँले नेपाली खेलकुदको विकासमा लागि थप सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता पनि जनाउनु भयो ।

नेपाली खेलकुदकै प्रतिष्ठित अवार्डको रुपमा रहेको यस अवार्डको १६औं संस्करण असार १७ गते काठमाडौंको कमलादिस्थित प्रज्ञा भवनमा आयोजना हुँदैछ । एक्शन स्पोर्ट्स एचडी च्यानलमा यो कार्यक्रम प्रत्यक्ष देखाइने छ । यस पटकको अवार्ड कार्यक्रममा नौ विधाका खेलाडी र खेलकर्मीसहित एक जना अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको बताईएको छ ।

प्रकाशित : २ असार २०७६, सोमबार ०७:२५