सात वटै प्रदेशको बजेट सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सात वटै प्रदेशको बजेट सार्वजनिक



काठमाडौं । मुलुकका सात वटै प्रदेशले आईतवार बजेट सार्वजनिक गरेका छन् । संघीय गणतन्त्रात्मक व्यवस्था लागू भएपछि सातवटै प्रदेशले दोस्रोपटक बजेट प्रस्तुत गरेका छन् । संघीय सरकारले बजेट ल्याएको १८ औं दिनमा प्रदेशको बजेट सार्वजनिक भएको छ ।

प्रदेशको पहिलो बजेट अर्थात चालू आर्थिक वर्षको बजेटमा धेरै कमीकमजोरी देखिएपछि दोस्रोपटक भने तुलनात्मक रूपमा परिष्कृत बजेट ल्याइएको सबै प्रदेश सरकारको दाबी छ ।

कर्णालीको  ३४ अर्ब
बजेट सार्वजनिक गर्ने कार्यमा अन्य प्रदेशको तुलनामा कर्णाली अगाडि देखिएको छ । कर्णाली प्रदेशले आर्थिक वर्ष २०७६/०७७ का लागि ३४ अर्ब ३५ करोड ३४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेशसभामा बजेट प्रस्तुत गर्नुभयो । बजेटमा सरकारी, निजी क्षेत्र र सहकारीका माध्यमबाट समृद्ध कर्णाली निर्माण गर्ने उल्लेख गरिएको छ ।

प्रदेश १ मा ४२ अर्ब
प्रदेश १ ले आर्थिक वर्ष २०७६/०७७ को लागि ४२ अर्ब २० करोड चार लाख रुपैयाँको बजेट सार्वजनिक गर्दैछ । बजेटमा कृषि, पर्यटन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य लगायतका क्षत्रलाई प्राथमिकता दिइएको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले जानकारी गराउनुभएको छ ।

प्रदेश २ मा ३८ अर्ब
प्रदेश २ ले आर्थिक वर्ष २०७६/०७७ को लागि करिब ३८ अर्ब ७२ कारोड ५६ लाख रुपैयाँको बजेट प्रस्तुत गर्दैछ । प्रदेश २ मा बेटी बढाउ बेटी बचाउ अभियानको साथै शिक्षा, स्वास्थ्य, पर्यटन पूर्वाधारको विकास लगायत विषयलाई जोड दिइएको आर्थिक मामिला तथा योजना मन्त्री विजय यादबले जानकारी दिनुभयो ।

प्रदेश ३ मा ४७ अर्ब
प्रदेश ३ ले आर्थिक वर्ष २०७६/०७७ का लागि करिब ४७ अर्ब ६० करोड ८७ लाख रुपैयाँको बजेट प्रस्तुत गदैछ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बजेटमा कृषि, वन, पर्यटन, पूर्वाधार विकासलाई प्राथमिकता दिइएको ताउनुभयो

गण्डकीमा ३२ अर्ब
गण्डकी प्रदेशले आर्थिक वर्ष २०७६/०७७ का लागि ३२ अर्ब १३ करोड ४७ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बजेटमा पोखराको पर्यटन प्रर्वद्धनको साथै कृषि, पूर्वाधार विकास, खेलकुद लगायतका सबै विषयलाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो ।

प्रदेश ५ मा ३६ अर्ब
प्रदेश ५ सरकार आर्थिक वर्ष २०७६/०७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बजेटमा प्रदेश गौरवका योजनाका साथै कृषि, पर्यटनलाई विशेष जोड दिएको मुख्यमन्त्री शंकर पोखरेलले बताउनुभयो ।

सुदूरपश्चिममा २८ अर्ब
सुदूरपश्चिम प्रदेशले आर्थिक वर्ष २०७६/०७७ का लागि २८ अर्ब १५ करोड ६५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले जनताले अनुभूति गर्ने आयोजना तयार पारिएको बताउनुभयो । बजेटमा कृषि, पर्यटन, पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ छ ।

बजेट

प्रकाशित : २ असार २०७६, सोमबार ०७:३१