नलसिंहगाड आयोजना अनियमिततामा लेखा समितिको चासो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नलसिंहगाड आयोजना अनियमिततामा लेखा समितिको चासो



काठमाडौं । व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिले नलसिंहगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने परामर्शदाता छनोट गर्ने क्रममा अनियमितता भएको भन्दै चासो देखाएको छ ।

जाजरकोटमा आयोजनास्थल रहेको उक्त  आयोजनाको हाल परामर्शदाता छनोटका क्रममा कम मूल्य प्रस्ताव गर्ने कम्पनीलाई नदिई बढी प्रस्ताव गर्नेलाई नलसिंहगाड जलविद्युत् आयोजना विकास समितिले दिन लागेको भन्दै लेखामा उजुरी परेको थियो । विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) गर्नका लागि अन्तिममा एसएमइसी (स्मेक) र एफ कन्सल्ट छानिएका थिए । अन्तिम चरणमा स्मेकले रू. एक अर्ब १९ करोड ९१ लाख ५६ हजार आठ सय ३२ ले प्रस्ताव गरेको थियो भने एफ कन्सल्टले रू. ८६ लाख ६५ लाख ६६ हजार दुई सय ३३ प्रस्ताव गरेको थियो । उक्त रकम स्मेकले भन्दा रू. ३३ करोड २५ लाख ९० हजार पाँच सय ९९ कम हो ।

आयोजना विकास समितिले कम प्रस्ताव गरेको एफ कन्सल्टलाई नदिई स्मेकलाई दिने तयारी गरेको उजुरीमा देखिन्छ । लेखा समितिको मङ्गलबारको बैठकले सो आयोजनाका सम्बन्धमा आयोजना विकास समितिबाट थप कागजात मगाउने र छलफल गर्ने निर्णय गरेको सभापति जनार्दन शर्माले बताए  ।

आयोजनाका कार्यकारी निर्देशक एवम् मूल्याङ्कन समितिले गरेको प्राविधिक मूल्याङ्कनमा  एफ कन्सल्टले ८४ अङ्कभन्दा बढी पाउनुपर्नेमा ७८ दशमलव २३ अङ्क दिइएको छ भने  स्मेकलाई ८२ दशमलव ७२ अङ्क दिइएको र आर्थिक तथा प्राविधिक प्रस्ताव पहिल्यै आवेदनकर्तालाई सार्वजनिक गरेको लेखा समितिमा दर्ता गराइएको उजुरीमा उल्लेख छ ।

सरकारले चालु आर्थिक वर्षमा रू. २५ करोड बजेट विनियोजन गरेको उक्त आयोजनाको क्षमता ४१० मेगावाट रहेको छ  । हाल उक्त आयोजनाको पहुँचमार्ग निर्माणको काम शूरु भएको छ । पहुँचमार्ग निर्माण, जग्गा प्राप्ति र मुआब्जाा वितरण लगायतका विषयमा विवाद जारी रहेका कारण कार्य अगाडि बढ्न नसकेको समितीको भनाइ छ ।

विकास समितिले कम प्रस्ताव गर्ने एफ कन्सल्टलाई नदिई बढी प्रस्ताव गर्ने स्मेकलाई दिएर आर्थिक चलखेल गरेको भन्दै थप छलफल र अध्ययन आवश्यक रहेको सांसद विकास लम्सालले बताए ।

प्रकाशित : ११ फाल्गुन २०७२, मंगलवार १४:४५