सहकारी ठगी मुद्दामा फरार अभियुक्त पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

सहकारी ठगी मुद्दामा फरार अभियुक्त पक्राउ



काठमाडौं । सहकारी ठगी मुद्दामा फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका २६ बस्ने ३२ वर्षीय प्रतिमा सिटौलालाई सोमबार पक्राउ गरेको हो । उनलाई नुवाकोटको विदुरबाट प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको प्रहरीले पक्राउ गरेको छ ।

सिटौला समेत भएको ठगी मुद्दामा उच्च अदालत पाटनको २०७३ चैत्र ७ गतेको फैसलाले १ महिना कैद र १८ लाख ३१ हजार ८ सय ८७ रुपैयाँ जरिवाना हुने ठहर भएकी सिटौला उक्त सजाय वेरुजु रही फरार रहेकी थिइन् ।

काठमाडौं टोखा नगरपालिका ९ स्थित नाङ्गलो दिप सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडकी संचालक सदस्य सिटौला समेतका पदाधिकारीहरुले २०७०र७१ सालमा २ सय २ जना निक्षेपकर्ताहरुलाई आकर्षक सेवा, सुविधा र उपहार दिन्छौँ भन्दै रकम असुलेका थिए ।

विभिन्न प्रलोभनमा पारी जम्मा हुन आएको १ करोड ८३ लाख १८ हजार ८ सय ७१ रुपैयाँ आफूखुशी खर्च गरेको कसूरमा अदालतले प्रतिमा सिटौलालाई उल्लेखित सजाय गरेको थियो ।

सिटौलालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको ब्यूरोले जनाएको छ ।

यसैगरी, रडले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सितगंगा नगरपालिका १ घर्तीसेरा बस्ने २१ वर्षीय यादव शारु मगरलाई रडले प्रहार गरको आरोपमा स्थानीय ३१ वर्षीय ऋषिराम थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

तीजको नाच हेर्ने क्रममा विवाद हुँदा ऋषिराम र अर्का २८ वर्षीय हुम बहादुर राजकोटीले रडले प्रहार गरेपछि ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले ऋषिरामलाई पक्राउ गरेको हो । कुटपिटमा संलग्न अन्य व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

घाइते यादवलाई प्राथमिक स्वास्थ्य चौकी ठाडामा सामान्य उपचार पश्चात थप उपचारको लागि बुटवलतर्फ पठाइएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित : २२ श्रावण २०७६, बुधबार १३:१०