‘नेकपा देखेर दया लाग्यो’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

विविध

‘नेकपा देखेर दया लाग्यो’



काठमाडौं । प्रतिपक्षी कांग्रेसले समसामयिक प्रमुख चार मुद्दामा सरकारको ध्यानाकर्षण गराएको छ । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

ट्रेड युनियन अधिकारसम्बन्धी विधेयक, गोंगबुस्थित नयाँ बसपार्कमा भएको सेटिङ, सरकारी जग्गामा रहेको नेकपाको कार्यालय र नेकपाको राजनीतिक प्रतिवेदनमाथि असहमति जनाउँदै कांग्रेसले सरकारलाई सचेत गराएको हो।

ट्रेड युनियनसम्बन्धी विधेयक राज्य व्यवस्था समितिमा पेस गरिएको छ। ट्रेड युनियनलाई सरकारीकरण गर्ने र अन्य ट्रेड युनियनले प्रश्नै गर्न नपाउने गरी ल्याइएको विधेयक कांग्रेसलाई मान्य नहुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। शर्माले युनियन बनाउने अधिकारमा सरकारले निषेध गर्न लागेको भन्दै त्यसविरुद्ध सशक्त उत्रिने चेतावनी पनि दिए। पार्टी मुख्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘केही दिनयता अवरुद्ध संसद् बल्ल खुलेको छ, सत्तारूढ दल नसच्चिए फेरि अवरुद्ध हुन सक्छ।’

गोंगबुस्थित नयाँ बसपार्कको जग्गा मन्त्रीहरूकै मिलेमतोमा अतिक्रमण भएको आरोप कांग्रेसले लगाएको छ। शर्माले यसको गम्भीर छानबिन हुनुपर्ने बताए। उनले मिलेमतोमा अख्तियारका पूर्वपदाधिकारीसमेत संग्लन देखिएको दाबी गरे। प्रवक्ता शर्माले भने, ‘नयाँ बसपार्कको जग्गामा भएका अनियमिततासम्बन्धी सत्यतथ्य छानबिन गरेर दोषीमाथि कारबाही गरियोस्।’

नेकपाले तयार पारेको राजनीतिक दस्तावेज दृष्टिदोषले भरिएको टिप्पणी कांग्रेसको छ। विगतमा कांग्रेस नेतृत्वको सरकारले ल्याएको आर्थिक नीति नै वर्तमान सरकारले अवलम्बन गरेको दाबी शर्माले गरे। उनले कांग्रेसबारे राजनीतिक दस्तावेजमा गरिएको टिप्पणी दृष्टिदोषको उपज भएको दाबी गरे। उनले भने, ‘अहिलेलाई केवल यति टिप्पणी– त्यो दस्तावेजमा कांग्रेसबारे इमानदार दृष्टि होइन, बरु दृष्टिदोष प्रस्तुत छ’, शर्माले भने, ‘दृष्टिउपर दृष्टिकोण व्यक्त गर्न मिल्छ, दृष्टिदोषमाथि केवल दयामात्र। म विनम्र ढंगले दया व्यक्त गर्न चाहन्छु।’

नेकपाको राजनीतिक प्रतिवेदनमा कांग्रेसमाथि भ्रष्टहरूको संरक्षण गरेको आरोप लगाइएको छ। प्रवक्ता शर्माले सरकारको नेतृत्व गरेपछि नेकपाले केही नयाँ काम नगरेको बताए। उनले भने, ‘विगतमा कांग्रेसले अघि सारेका कदममा फूलबुट्टा भर्ने काम मात्र भयो।’

नेकपाको धुम्बाराहीस्थित पार्टी कार्यालय सरकारी जग्गामा राखिएको भन्दै आलोचना हुन थालेको छ। शर्माले सरकारमा बसेर सरकारी जग्गा मास्न पार्टी संस्थागत भएर लागेको भन्दै नेकपालाई तत्काल माफी मागेर पार्टी कार्यालय खाली गर्न भनेका छन्। उनले नेकपाको नैतिकतामाथि नै प्रश्न उठेको बताए। शर्माले भने, ‘रक्षक भनिने सरकार नै भक्षक देखिएको छ। उहाँहरूले थप लज्जित बन्नु भन्दा तत्काल गल्ती सच्याउनुको विकल्प छैन।’

शर्माले जारी केन्द्रीय समिति बैठकले पछि औपचारिक रुपमा समसमायिक विषयमा आफ्नो निर्णय लिने बताए। उनले भने, ‘सरकारका पछिल्ला कामबारे बोल्नैपर्ने भएका कारण यी धारणा सार्वजनिक गरेका हौं।’

असार २२ देखि सुरु भएको केन्द्रीय समिति बैठकले पार्टीको मुख्य दुई एजेन्डामा छलफल गरेको जानकारी प्रवक्ता शर्माले दिए। उनले भने, ‘बैठकमा पेस भएको १४ वटै एजेन्डाबारे पार्टीले चाँडै औपचारिक निर्णय लिनेछ।’ बैठक आइतबार बस्दै छ।

प्रकाशित : २४ श्रावण २०७६, शुक्रबार ०७:४२