विगागको शैलीले व्यवसायी आतंकित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

विगागको शैलीले व्यवसायी आतंकित



काठमाडौं । व्यवसायीहरुले राजश्व अनुसन्धान विभागको शैली अनुसन्धानात्मक हुनुपर्नेमा जोड दिएका छन् ।

पछिल्लो समय विभागले अन्धाधुन्द छापामार्ने काम गरेर व्यवसायीहरुलाई अनाहकमा दुख दिने गरेको उनिहरुले गुनासो गरे ।

नेपाल चेम्बर अफ कमर्सले बुधबार राजधानीमा गरेको राजश्व अनुसन्धानसम्बन्धी छलफलकाक्रममा उनीहरुले राजश्व बढाउनुपर्ने दबाबले पनि विभागले अन्धाधुन्ध छापामारेको आशंकासमेत गरे ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले विभागले तथ्य बुझेर अनुसन्धान गरेरमात्र कारबाहीमा हात हाल्नुपर्ने बताए ।

भन्सार र राजश्व अनुसन्धान एउटै निकायअन्तर्गत्का भएपनि समन्वयको अभाव रहेको उनले गुनासो गरे ।

सबै प्रक्रिया पूरा गरेर सामान ल्याउँदा पनि राजश्व अनुसन्धानका नाउँमा बाटोमा दुःख दिइने गरेको व्यवसायीहरुको भनाइ छ । विभागले निरोधात्मक उपाय अपनाउनुपर्नेमा पनि उनीहरुको जोड दिएका छन् ।

विभागका महानिर्देशक निर्मलहरि अधिकारीले व्यवसायीले मूल्यांकन कम गर्न खोज्ने र प्रशासनले एकरुपता खोज्ने प्रवृत्तिका कारण पनि समस्या सिर्जना भएको बताए ।

एउटै व्यवसायीले धेरै फर्मबाट धेरैथरी कारोबार गर्ने प्रवृत्ति कायम रहुन्जेल भन्सारमा सुधार आउनै नसक्ने उनले उल्लेख गरे ।

सबै कारोबार राष्ट्रिय लेखामा आउनुपर्ने उनको भनाइ छ । लहडमा हुने अनुसन्धान पद्धतिलाई व्यवस्थित गर्दै लगिएको उनले दाबी गरे ।

विभागले साना व्यवसायीभन्दा ठूलो चुहावटमा ध्यान दिँदै आएको र कारबाहीमा परेका व्यापारीलाई चित्त नबुझाइ कारबाही नगरिएको पनि उनले दाबी गरे ।

प्रकाशित : २० फाल्गुन २०७२, बिहीबार ०३:०१